विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

20 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका थिए। विमानस्थलमा शङ्कास्पद गतिविधि देखिएपछि सुरक्षा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र लुकाएर राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको हो।

भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएको गोलाकार आकारको पहेँलो अर्धठोस पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको छ।

प्रहरी नायब उपरीक्षक नेउपानेका अनुसार भन्सार छली गरी अवैध रूपमा उक्त पदार्थ नेपाल भित्र्याउन खोजिएको आशङ्कामा झानलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थल सुरक्षा कार्यालयले बरामद पदार्थ आवश्यक परीक्षण तथा अनुसन्धानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। उक्त पदार्थ वास्तविक सुन हो वा अन्य कुनै धातु हो भन्ने विषय परीक्षणपछि मात्रै यकिन हुनेछ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।