प्रधानमन्त्री बालेनको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन हुने

21 Shares

काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणको दोस्रो दिन मंसिर ७ गते सोमबार अयोध्याबाट जनकपुरका लागि पहिलो रेल सञ्चालन हुनेछ ।

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु हुन लागेको यो सेवाले दुई देशबीच जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तत्कालका लागि रेल सेवा हप्तामा एक पटक मात्र सञ्चालन हुनेछ । जनकपुरबाट प्रत्येक शनिबार अयोध्याका लागि रेल छुट्नेछ भने अयोध्याबाट सोमबार जनकपुरका लागि सेवा सञ्चालन गरिनेछ ।

रेलले जनकपुरदेखि गोरखपुर हुँदै करिब ६०४ किलोमिटर दूरी पार गरी अयोध्याधाम पुग्नेछ । यस क्रममा जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर स्टेशनमा रेल रोकिनेछ ।

भारतको रेलवे मन्त्रालयले जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् रामको जन्मभूमि भएकाले यी दुई पवित्र तीर्थस्थलबीचको सम्पर्क विस्तारलाई विशेष महत्व दिएको जनाएको छ ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा रहँदा भारतीय पक्षले १७ कोचको रेल सञ्चालन परीक्षण गरेको थियो । उक्त परीक्षण जयनगरदेखि कुर्थासम्म गरिएको थियो ।

नेपाल पक्षले आफ्नै व्यवस्थापनमा रेल सञ्चालनको तयारी पूरा नगरेसम्म भारतीय रेलले नै सेवा सञ्चालन गर्ने दुई देशबीच सहमति भएको छ । प्रारम्भिक चरणमा भारतीय पक्षले रेल सञ्चालन गर्ने भएकाले टिकट दरसमेत उसैले निर्धारण गर्ने जनाइएको छ ।