मेचीनगर । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न झापाको मेचीनगरमा नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोग व्यापक बनाउनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
हात्ती नियन्त्रणका प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रबार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले करिब एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताए ।
उनका अनुसार भारतबाट दैनिक करिब एक सयको सङ्ख्यामा आउने हात्तीको बथानलाई स्थानीयवासीले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन् । तर, बाहुनडाँगीका विभिन्न गौंडाबाट नेपाल प्रवेश गर्ने हात्तीले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको उप्रेतीले बताए ।
‘बाहुनडाँगीका विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्याइरहेको छ,’ उनले भने ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतर्फ सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा निर्माण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार धानबाली पाक्ने समयमा हात्तीको बथान आउने क्रम बढ्ने भएकाले सीमाक्षेत्रमै रोक्ने उपाय प्रभावकारी बनाउन आवश्यक छ ।
हात्ती नियन्त्रणका लागि पछिल्लो समय मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिले ट्याक्टरको प्रयोगसमेत गरिरहेको छ । स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले धानबाली भित्र्याउने समयमा प्रत्येक गौंडामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्न सुझाव दिए ।
हात्ती नियन्त्रणका लागि परिचालित स्वयंसेवी युवा समूह (आरआरटी) का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत ट्याक्टर लैजान सकिने भएकाले हात्ती धपाउन यसको प्रयोग प्रभावकारी देखिएको बताए । उनका अनुसार ट्याक्टरको प्रयोगले हात्तीको बथानलाई बस्ती र खेतीबालीबाट टाढा राख्ने प्रयासमा सहयोग पुग्न सक्छ ।
स्थानीयवासीले हात्तीबाट हुने क्षति रोक्न विद्युतीय तारबारको मर्मत तथा नयाँ घेराबेरा निर्माणसँगै ट्याक्टर परिचालनलाई व्यवस्थित र व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीयको गुनासो तथा माग सुनेपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण तथा स्पष्ट कार्ययोजना आवश्यक रहेको बताए ।
उनले स्थानीयको मागअनुसार नयाँ योजनाका साथ काम अघि बढाउने प्रतिबद्धता जनाउँदै सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए ।
भारतबाट आउने जङ्गली हात्तीका कारण बाहुनडाँगीसहित आसपासका क्षेत्रमा जनधन तथा कृषि बालीमा क्षति हुँदै आएको अवस्थामा स्थानीयले तत्कालीन नियन्त्रणका उपायसँगै दीर्घकालीन समाधानको माग गरेका छन् । नयाँ विद्युतीय तारबार र ट्याक्टर परिचालनलाई प्रभावकारी बनाउन सके मानव–हात्ती द्वन्द्वबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनीहरूको अपेक्षा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया