विराटनगर । विराटनगर महानगरपालिकाले आफ्ना १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारी अघि बढाएको छ । महानगरपालिकाले वर्गीकरणसम्बन्धी आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा गरेसँगै लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुलाउने बाटोसमेत सहज भएको जनाएको छ ।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्राचार गर्दै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषद्बाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको वर्गीकरणसम्बन्धी विवरण नापी कार्यालयमा पठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल तथा तथ्याङ्क भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ । यससँगै भू–उपयोग वर्गीकरणको विवरण सम्बन्धित कार्यालयबाट कार्यान्वयन हुने प्रक्रियामा अघि बढेको छ ।
भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउनेलगायतका घरजग्गासम्बन्धी कामले अब सहजता पाउने विश्वास महानगरपालिकाले गरेको छ ।
महानगर प्रमुख नागेश कोइरालाले भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया अघि बढेसँगै विराटनगर क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार कित्ताकाटको समस्याका कारण लामो समयदेखि प्रभावित हुँदै आएका सेवाग्राहीलाई यसले सहजता प्रदान गर्नेछ ।
महानगर प्रमुख कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको जानकारी दिए । भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
सेवाग्राहीले जग्गासम्बन्धी कामका लागि अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने महानगरको योजना रहेको उनले बताए ।
त्यस्तै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह तथा प्रशासनिक प्रक्रियामा सहजता आउनेछ । प्रविधिमा आधारित सेवा प्रणालीले महानगरभित्रका जग्गाधनी तथा सेवाग्राहीलाई आवश्यक सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
१९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार भई कार्यान्वयनको प्रक्रियामा अघि बढेसँगै विराटनगरमा जग्गाको कित्ताकाट तथा घरजग्गासम्बन्धी सेवा सहज हुने अपेक्षा गरिएको छ । महानगरपालिकाले भू–सेवा सञ्चालनको तयारीसमेत अघि बढाएकाले आगामी दिनमा जग्गा प्रशासनसम्बन्धी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया