आज विश्व मधुमेह दिवस : स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परीक्षण गर्न चिकित्सकको सुझाव

27 Shares

काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, समयमै पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

मधुमेहलाई विश्वव्यापी रूपमा बढ्दो जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ । पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशहरूमा मधुमेहको प्रकोप तीव्र गतिमा बढिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको सङ्गठनको भनाइ छ ।

मधुमेह शरीरमा रगतमा चिनी अर्थात् ग्लुकोजको मात्रा असामान्य रूपमा बढ्ने अवस्था हो । समयमै पहिचान र उचित उपचार हुन नसके यसले शरीरका विभिन्न अङ्गमा गम्भीर असर पुर्‍याउन सक्छ । मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार मधुमेहको जोखिम कम गर्न दैनिक जीवनशैलीमा सुधार गर्नु अत्यन्त आवश्यक छ । स्वस्थ तथा सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम, तौल नियन्त्रण र सुर्तीजन्य पदार्थको सेवन नगर्नेजस्ता उपाय अपनाउँदा विशेषगरी टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम घटाउन सकिन्छ ।

त्यसैगरी, मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाहअनुसार औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले पनि मधुमेहबाट बच्न र रोग नियन्त्रणमा राख्न स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने र शरीरको तौल नियन्त्रणमा राख्ने बानीले मधुमेहको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ ।

मधुमेहका सबै प्रकार एकै किसिमले विकसित हुँदैनन् । टाइप–१ मधुमेह छिटो विकसित हुन सक्छ भने टाइप–२ मधुमेह विस्तारै विकास हुने र सुरुवाती अवस्थामा स्पष्ट लक्षण नदेखिने सम्भावना रहन्छ । त्यसैले आफूलाई कुनै समस्या नदेखिए पनि जोखिममा रहेका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक मानिन्छ ।

डा. भट्टराईका अनुसार मोटोपना भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोलको मात्रा उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेह परीक्षण गराउनुपर्छ । त्यस्तै, ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु उपयुक्त हुने उनको सुझाव छ ।

‘मोटोपन भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ’, डा. भट्टराईले भने ।

मधुमेह नियन्त्रणका लागि के गर्ने ?

  • सन्तुलित तथा पोषिलो खाना खाने ।

  • दैनिक रूपमा शारीरिक व्यायाम तथा हिँडडुल गर्ने ।

  • शरीरको तौल नियन्त्रणमा राख्ने ।

  • सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।

  • चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परीक्षण गराउने ।

  • मधुमेह देखिएमा औषधि तथा उपचार नियमित गर्ने ।

  • रगतमा चिनीको मात्रा नियमित जाँच गर्ने ।

विश्व मधुमेह दिवसले मधुमेह रोगबारे सही जानकारी फैलाउने, जोखिममा रहेका व्यक्तिलाई समयमै परीक्षण गर्न प्रेरित गर्ने र उपचारमा पहुँच विस्तार गर्ने सन्देश दिएको छ ।

मधुमेह लागिसकेपछि मात्रै उपचार खोज्नेभन्दा रोगको जोखिम पहिचान गरी समयमै सावधानी अपनाउनु बढी प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ । त्यसैले स्वस्थ खानपान, नियमित व्यायाम र स्वास्थ्य परीक्षणलाई दैनिक जीवनको हिस्सा बनाउन आवश्यक देखिन्छ ।