काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै, देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रका साथै विभिन्न उपत्यका र खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानपख हुस्सु तथा कुहिरो लाग्दा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
पश्चिमी वायुको प्रभावका कारण हिमाली क्षेत्रमा चिसो बढ्न सक्ने र सम्भावित हिमपात तथा वर्षालाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिकलाई मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया