एजेन्सी । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजित विश्व नेताहरूको शिखर सम्मेलन बुधवारदेखि शुरु भएको छ ।
सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न तथा जलवायु वित्त व्यवस्थालाई थप प्रभावकारी बनाउन विश्व नेताहरूले जोड दिएका छन् । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
सबै विषयमा राष्ट्रहरूबीच समान धारणा हुन आवश्यक नभए पनि कुनै एक देशले मात्रै समाधान गर्न नसक्ने समस्यामा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो । गुटेरेसले सन् २०२५ मा विश्वव्यापी कार्बन उत्सर्जन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको र पछिल्ला चार वर्ष इतिहासकै सबैभन्दा गर्मी वर्ष बनेको उल्लेख गरे ।
उनले जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्नुपर्नेमा जोड दिँदै ठूला तेल कम्पनीले असाधारण नाफामा कर लगाएर जलवायुजन्य क्षतिको पुनःस्थापना तथा पुनर्निर्माणमा योगदान दिनुपर्ने बताए । स्वच्छ ऊर्जाको विस्तारबारे चर्चा गर्दै उनले गत वर्ष विश्वव्यापी विद्युत् मागमा भएको वृद्धिको करिब तीन चौथाइ हिस्सा सौर्य ऊर्जाले पूरा गरेको जानकारी दिए ।
यसले विश्वका अधिकांश क्षेत्रमा स्वच्छ ऊर्जा नयाँ विद्युत उत्पादनको सबैभन्दा सस्तो स्रोत बनेको प्रमाणित गरेको उनको भनाइ थियो । यस वर्षको सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी महत्वाकांक्षी लक्ष्य र कार्यान्वयनबीचको दूरी कम गर्ने, वित्तीय प्रतिबद्धता पूरा गर्ने तथा जलवायु उत्थानशीलता अभिवृद्धिमा केन्द्रित हुने लक्ष्य राखेको छ ।
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूको आवश्यकतालाई प्राथमिकता दिनु विश्व समुदायको प्रमुख जिम्मेवारी भएको बताए । उनले जलवायु वित्तलाई सहज पहुँचयोग्य, पूर्वानुमानयोग्य र वास्तविक आवश्यकताअनुसार उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
ऐतिहासिक रूपमा विश्वको कार्बन बजेटको ठूलो हिस्सा उपभोग गरेका विकसित राष्ट्रहरूले उत्सर्जन न्युनिकरण र जलवायु वित्त उपलब्ध गराउने दुवै क्षेत्रमा थप जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अन्तर्राष्ट्रिय सहकार्यले स्वच्छ ऊर्जामा लगानी बढाउन र जलवायु वित्तको प्रवाह तीव्र बनाउन सहयोग गरिरहेको बताए ।
ऊर्जा रूपान्तरणको प्रक्रियामा कुनै पनि समुदाय पछाडि पर्न नहुने उनले उल्लेख गरे । पेरिस सम्झौतापछि विश्वको तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसबाट घटेर करिव २.६ डिग्री सेल्सियसमा झरेको उल्लेख गर्दै अल्बानिजले १.५ डिग्री सेल्सियसको लक्ष्य कायम राख्न चालू दशक निर्णायक रहेको बताए । उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धतालाई तत्काल कार्यान्वयनमा लैजान विश्व नेताहरूलाई आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया