लोकतन्त्रमाथि खतरा आए काँग्रेस चुप बस्दैन ः महामन्त्री पौडेल

34 Shares

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् । लोकतन्त्रको रक्षा गर्न आवश्यक परे आन्दोलनमा उत्रिने र अन्य शक्तिसँग सहकार्य गर्ने उनको भनाइ छ ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्र रक्षाका लागि संघर्ष गर्न बाध्य हुने बताए । उनले लोकतन्त्र खोस्ने प्रयास भए दुर्गानन्द झाजस्ता व्यक्तिहरू फेरि जन्मिन सक्ने चेतावनीसमेत दिए ।

महामन्त्री पौडेलले आगामी चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे अन्योल देखिएको भन्दै सरकारले निर्वाचनप्रति आफ्नो धारणा र तयारी स्पष्ट पार्नुपर्ने बताए । निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो ।

उनले काँग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको उल्लेख गर्दै सरकारले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताए । तर सरकारको अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र जोगाउन काँग्रेस जुनसुकै संघर्ष गर्न तयार रहेको उनले स्पष्ट पारे ।