रोनाल्डोको मृत्युपछि सौराहामा भाले हात्तीबीच वर्चस्वको प्रतिस्पर्धा

68 Shares

चर्चित भाले हात्ती रोनाल्डोको मृत्युपछि सौराहास्थित हात्ती प्रजनन केन्द्रमा अन्य जंगली भाले हात्तीबीच वर्चस्व कायम गर्ने प्रतिस्पर्धा बढेको छ । गत असोज ३ गते बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिक विद्युतीय तार चपाउँदा करिब ४५ वर्षको रोनाल्डोको मृत्यु भएको थियो ।

रोनाल्डोको मृत्युपछि सुरुमा गोविन्दे नामको भाले हात्तीले झन्डै दुई महिनासम्म केन्द्रमा प्रभाव जमाएको थियो । उक्त अवधिमा गोविन्देले दुईवटा पोथी हात्तीसँग प्रजनन गर्न सफल भएको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए । अहिले भने गोविन्देको स्थानमा सुवेदीगज नामको जंगली भाले हात्ती सक्रिय हुन थालेको छ ।

उसले पनि प्रजननको प्रयास गरिरहेको भए पनि अहिलेसम्म सफल हुन नसकेको चौधरीले बताए । केन्द्रमा अहिले तीनवटा भाले हात्तीबीच आफ्नो प्रभाव कायम गर्ने प्रतिस्पर्धा भइरहेको छ । हाल प्रजनन केन्द्रमा नौवटा माउ हात्ती र सातवटा छावा छन् ।

केन्द्रमा अहिलेसम्म ६९ भन्दा बढी छावा जन्मिएका छन् । यहाँ जन्मिएका हात्तीलाई तालिम दिएर राष्ट्रिय निकुञ्जको संरक्षणमा खटाउने गरिन्छ ।