काठमाडौं । झापाको मेचीनगर नगरपालिका–७ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा १४ वटा जङ्गली हात्तीको बथानले दिनभर आश्रय लिएपछि सीमावर्ती नेपाली बस्तीमा त्रास फैलिएको छ । साना बच्चासहितको हात्तीको बथान सीमावर्ती झाडीमा बसेपछि स्थानीयवासी राति बस्तीमा प्रवेश गर्न सक्ने भन्दै चिन्तित भएका छन् ।
हात्तीको बथानले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फ भारतीय भूभागमा सिसौ र टिकका बिरुवा हुर्किएको बाक्लो झाडी रहेको छ । त्यसको नेपालतर्फ सतिघट्टा, मेचीबस्ती र गैरीगाउँलगायत बाक्लो मानव बस्ती रहेका छन् ।
प्रत्यक्षदर्शी जीआर धितालका अनुसार आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहित १४ वटा हात्ती देखिएका थिए । ती हात्ती दिनभर त्यही क्षेत्रमा बसेपछि आसपासका बस्तीका बासिन्दामा डर र त्रास बढेको उनले बताए ।
“ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो,” धितालले भने ।
हात्ती बस्तीमा प्रवेश गर्न नदिन सुरक्षा सतर्कता बढाइयो
हात्तीको बथान नेपालतर्फका बस्तीमा प्रवेश नगरोस् भन्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।
सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतका विभिन्न सीमा सुरक्षा चौकी (बीओपी) तथा डिभिजन वन कार्यालय झापाबाट सुरक्षाकर्मी परिचालन गरिएको डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले जानकारी दिए ।
भारततर्फबाट आएको हात्तीको बथानलाई सीमामै रोक्ने प्रयास भइरहे पनि रातिको समयमा बस्तीमा प्रवेश गर्न सक्ने आशङ्काले स्थानीयवासी थप त्रसित भएका छन् । विशेषगरी हात्तीको बथानमा साना बच्चासमेत रहेकाले उनीहरूको गतिविधिलाई नजिकबाट निगरानी गरिएको छ ।
भारतीय सीमावर्ती क्षेत्रका १८ परिवारले घर छाडे
हात्तीले आश्रय लिएको झाडीको पूर्वतर्फ रहेको भारतीय बस्तीका १८ परिवारले सम्भावित जोखिमबाट जोगिन बिहानैदेखि घर छाडेका छन् ।
घर छाडेका परिवारमध्ये केही नेपालतर्फका स्थानीय घरमा आश्रय लिएर बसेका छन् भने केही घुमाउरो बाटो प्रयोग गरी भारततर्फकै सुरक्षित स्थानमा पुगेका छन् ।
हात्तीको बथान बस्ती नजिकै बसेपछि दुवैतर्फका स्थानीयवासीमा त्रास फैलिएको छ । रातिको समयमा हात्ती बस्तीमा प्रवेश गर्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन भनिएको छ ।
बाहुनडाँगीबाट प्रवेश रोकिएपछि पाँच किलोमिटर दक्षिण सर्यो बथान
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार भारतबाट नेपाल प्रवेश गर्न खोजेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मेचीनगर नगरपालिका–४ को प्रसाद गौडाबाट नेपालतर्फ प्रवेश गर्न खोजेको हात्तीको बथानलाई बाहुनडाँगी सीमा क्षेत्रमा रोकिएको थियो । त्यहाँबाट नेपाल प्रवेश गर्न नपाएपछि हात्तीको बथानले बाटो परिवर्तन गरी करिब पाँच किलोमिटर दक्षिणतर्फ सरेर मेची पुलमुनिको बाटो हुँदै मेचीनगर–७ स्थित दशगजा क्षेत्रमा आश्रय लिएको हो ।
यसअघि पनि भारतबाट नेपाल प्रवेश गरेका जङ्गली हात्तीले स्थानीयवासीका घर भत्काउने तथा पाक्न लागेको धानबाली खाएर क्षति पुर्याउने गरेका कारण यसपटक हात्तीको बथानलाई नेपाल प्रवेश गर्न नदिन सुरक्षा सतर्कता बढाइएको हो ।
हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय परिचालन
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हात्तीलाई भारततर्फ नै फर्काउने प्रयास भइरहेको जानकारी दिएका छन् । हात्तीको प्रवेश रोक्न तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र सम्बन्धित निकायलाई सक्रिय बनाइएको उनले बताए ।
हात्तीको बथानलाई बस्तीमा प्रवेश गर्न नदिन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, ¥यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसानहरू परिचालन भएका छन् ।
सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाउँदै हात्तीको गतिविधि अनुगमन गरिरहेका छन् । स्थानीयवासीलाई हात्तीको नजिक नजान, जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न र सुरक्षित दूरी कायम राख्न आग्रह गरिएको छ ।
१४ वटा हात्तीको बथान दशगजा क्षेत्रमा रहेकाले रातिको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले सतर्कता बढाएका छन् । हात्ती बस्तीमा प्रवेश गरेमा घर, अन्नबाली तथा मानवीय सुरक्षामा क्षति पुग्न सक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया