देउसीभैलोको दक्षिणा माध्यमिक कक्षा सञ्चालनमा

29 Shares

हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको दुई लाख १७ हजार ५७५ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको छ ।

विद्यालयको शैक्षिक विकास तथा माध्यमिक तहका कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बताए ।

उक्त रकम माध्यमिक तहका कक्षा सञ्चालन तथा शिक्षक व्यवस्थापनमा खर्च गरिनेछ । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तह सञ्चालनका लागि उनले थप सहयोग गर्न जिल्लाका सबैमा आग्रह गरेका छन् ।

अभिभावकको मागअनुसार विद्यालयले गत फागुनदेखि कक्षा ९ र १० सञ्चालन गर्दै आएको अध्यक्ष शाहीले बताए । माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिन देउसीभैलो कार्यक्रम आयोजना गरिएको उनले बताए ।