धनगढीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

28 Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो ।

बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले राससलाई जानकारी दिएका छन् ।

दुर्घटनामा एकै परिवारका तीन जना घाइते

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१४ का २६ वर्षीय प्रवीण चौधरी घाइते भएका छन् । मोटरसाइकलमा सवार उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी पनि घाइते भएका छन् ।

त्यस्तै, स्कुटरमा सवार धनगढी उपमहानगरपालिका–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका पाँचै जनाको अवस्थाबारे थप विवरण प्राप्त भएको छैन । दुर्घटनाबारे प्रहरीले आवश्यक जानकारी तथा अनुसन्धान अघि बढाएको छ ।