टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

21 Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकको कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खनालले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।

उनका अनुसार टर्कीमा रहेका नेपालीलाई कन्सुलर सेवा प्रदान गर्न अवैतनिक वाणिज्यदूतमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने तयारी

मन्त्री खनालले बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक समस्यामा पर्ने गरेको विषयलाई गम्भीर रूपमा लिएको बताए ।

नेपाली श्रमिकलाई सुरक्षित र वैधानिक माध्यमबाट वैदेशिक रोजगारीमा पठाउने उद्देश्यले टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे अध्ययन गरिने उनले जानकारी दिए ।

समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै मन्त्री खनालले श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनए टर्कीका विभिन्न माग

ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न सरकारसँग माग गरेका थिए ।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्रै श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण तथा ठगी नियन्त्रण गर्न र घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न पनि उनले आग्रह गरेका थिए ।

टर्कीमा समस्यामा परेर अलपत्र भएका नेपाली श्रमिकको उद्धार तथा सहयोगका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्नुपर्ने मागसमेत अध्यक्ष पौडेलले राखेका थिए ।

परराष्ट्रमन्त्री खनाल कोप–३१ सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीमा रहेका छन् । सोही क्रममा उनले टर्कीस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेका हुन् ।