झोलुङ्गे पुल बनाउन ३० लाख बजेट विनियोजन

24 Shares

कर्णाली । मुन्दु गाउँ र सेरालाई जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयसँगको छलफलका क्रममा पुल निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । उनले पुल निर्माणको प्रक्रिया तत्काल सुरु गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई लक्षित गरी स्थानीय सडकको मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाए । साथै धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने उनले बताए ।

दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने

प्रस्तावित झोलुङ्गे पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

पुल बनेपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज हुनुका साथै ऋणमोक्ष धामसम्म पुग्ने धार्मिक तथा पर्यटकीय गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।