मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै भैयादुज पर्व, दाजुभाइको दीर्घायु र समृद्धिको कामना

9 Shares

काठमाडौं । मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्परागत रूपमा भैयादुज पर्व मनाइँदै छ । दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता तथा पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने यस पर्वलाई मिथिलाको मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण चाडका रूपमा लिइन्छ ।

दीपावली पर्वको अन्तिम दिनका रूपमा मनाइने भैयादुजसँगै यस वर्षको दीपावली पर्व पनि सम्पन्न हुँदैछ । कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष छ दिनसम्म मनाइएको हो । सामान्यतया पाँच दिनसम्म मनाइने दीपावली यस वर्ष एक दिन लम्बिएको छ ।

मधेस प्रदेशको महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज बिहानैदेखि दिदीबहिनीहरू दाजुभाइको पूजाको तयारीमा जुटेका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई घरमा निमन्त्रणा गरी विधिपूर्वक पूजा गर्ने मैथिल परम्परा रहिआएको छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया नामले समेत चिनिन्छ ।

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निमन्त्रणा गरेर पर्व मनाउने चलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले उनीहरूले आफ्नै निवासमा यो पर्व मनाउने गर्छन् । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, माया, विश्वास र आपसी सद्भावलाई निरन्तरता दिने उद्देश्यले यो पर्व विशेष महत्वका साथ मनाइन्छ ।

पहाडी समुदायमा तिहार भनिने यस पर्वलाई मैथिली भाषामा दिवाली वा दीपावली भनिन्छ । पर्व मनाउने विधि पहाडी र मैथिल समुदायमा केही फरक भए पनि यसको पौराणिक कथावस्तु र मूल भाव एउटै रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक तथा मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाले बताएका छन् ।

उनका अनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले आफ्ना दाजुको सौर्य, कल्याण र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथासँग यस पर्वको परम्परा जोडिएको छ । यही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखमय जीवनको कामना गर्दै पूजा गर्ने परम्परा विकसित भएको मानिन्छ ।

मैथिल परम्पराअनुसार भैयादुजमा दिदीबहिनीले सबैभन्दा पहिले दाजुभाइलाई घरमा आउन निमन्त्रणा गर्छन् । निमन्त्रणा स्वीकार गरी दिदीबहिनीको घर पुग्ने दाजुभाइले नयाँ वस्त्र, आभूषण तथा विभिन्न कोसेली लिएर जाने चलन छ । यसले दिदीबहिनीप्रतिको सम्मान र आत्मीयतालाई अभिव्यक्त गर्ने विश्वास गरिन्छ ।

पूजाका लागि दिदीबहिनीले घरको आँगन सफा गरी पिठार अर्थात् पानीमा घोलिएको अरवा चामलको पिठो प्रयोग गरेर अरिपन बनाउँछन् । अरिपनलाई चतुर्भुज आकारको घेराका रूपमा तयार पारिन्छ । त्यसपछि उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाइन्छ । कोपरामा राखेर तातोपानीले दाजुभाइको गोडा धुने विशेष परम्परा पनि यस पर्वको महत्वपूर्ण विधि हो ।

गोडा धोएपछि दिदीबहिनीले अञ्जुली फैलाएर बसेका दाजुभाइलाई पिठार, पानको पात र सुपारी प्रदान गर्छन् । त्यसपछि निधारमा सप्तरङ्गी टीका लगाइदिँदै उनीहरूको सुख, शान्ति, समृद्धि, सफलता र दीर्घायुको कामना गरिन्छ । पूजा विधि पूरा भएपछि दिदीबहिनीले गङ्गा र यमुनाको जस्तै वेग, शक्ति र कीर्ति आफ्ना दाजुभाइमा कायम रहोस् भन्ने कामनासहित परम्परागत गीत गाउने गर्छन् ।

यस पर्वमा गरिने अर्को विशेष विधि ‘बजरी खुवाउने’ हो । यस क्रममा दिदीबहिनीले दाजुभाइलाई सुकेको केराउ चपाउन दिन्छन् । कडा केराउको दानालाई वज्रसँग तुलना गरी ‘बजरी’ भन्ने गरिएको मैथिल समुदायका जानकारहरू बताउँछन् । जलेश्वर नगरपालिका–५ पर्साकी महिला सामाजिक अगुवा अनिता शर्माका अनुसार यस विधिमार्फत दाजुभाइको शरीर वज्रझैँ बलियो र कठोर होस् भन्ने शुभकामना व्यक्त गरिन्छ ।

भैयादुजको पूजाविधि सम्पन्न भएपछि दाजुभाइले पनि दिदीबहिनीप्रति आफ्नो माया, सम्मान र जिम्मेवारी व्यक्त गर्ने परम्परा छ । उनीहरूले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण तथा नगद दक्षिणा राखिदिन्छन् । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका मिष्ठान्न तथा स्वादिष्ट परिकार खुवाएर सत्कार गर्छन् । यसरी धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी पर्व सम्पन्न गरिन्छ ।

यस पर्वको पूजा र टीका लगाउने शुभसाइत निर्धारण गर्न मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गलाई आधार मान्ने परम्परा छ । धार्मिक विधि र परम्पराअनुसार शुभसमयमा पूजा गर्दा दाजुभाइको जीवनमा सुख, शान्ति र समृद्धि कायम रहने धार्मिक विश्वास मैथिल समुदायमा रहिआएको छ ।

मिथिला क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अन्य सांस्कृतिक पर्वहरू पनि प्रचलनमा छन् । साउन पूर्णिमाका दिन मनाइने राखी पर्व पनि दाजुभाइ र दिदीबहिनीबीचको प्रेम तथा रक्षाको भावनासँग जोडिएको छ । यस पर्वको पौराणिक कथा पनि राजा बलि तथा उनका बहिनी गङ्गा र यमुनासँग सम्बन्धित रहेको धार्मिक मान्यता पाइन्छ ।

त्यसैगरी कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व मिथिलाको अर्को महत्वपूर्ण सांस्कृतिक उत्सव हो । भगवान् श्रीकृष्णका छोरा साम्ब र छोरी सामाबीचको प्रेम, स्नेह, समर्पण तथा त्यागको कथामा आधारित मानिने यस पर्वले पनि दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई उजागर गर्छ ।

राखी, सामाचकेवा र भैयादुजजस्ता पर्वले मिथिला समाजमा पारिवारिक एकता, आपसी प्रेम, विश्वास, सद्भाव र सांस्कृतिक निरन्तरताको सन्देश प्रवाह गर्दै आएका छन् । यस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था र सामाजिक मूल्य मान्यतासँग परिचित गराउनसमेत महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

समग्रमा भैयादुज केवल टीका लगाउने र उपहार आदानप्रदान गर्ने पर्व मात्र नभई दाजुभाइ र दिदीबहिनीबीचको निःस्वार्थ प्रेम, सम्मान, समर्पण र पारिवारिक एकताको प्रतीक हो । आधुनिक जीवनशैली र सामाजिक परिवर्तनका बीच पनि मिथिला क्षेत्रमा पुस्तौँदेखि चल्दै आएको यस मौलिक परम्परालाई निरन्तरता दिँदै हर्षोल्लासका साथ पर्व मनाइँदै छ ।