देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गर्ने दुई जना पक्राउ

42 Shares

रुपन्देही । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारमा देउसीभैलो कार्यक्रमका क्रममा अमर्यादित गतिविधि गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राची बस्नेत रहेका छन्।

प्रहरीका अनुसार कात्तिक २६ गते राति करिब १२ बजेर ५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

देउसीभैलो नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। तिहारका अवसरमा घरघर तथा सार्वजनिक स्थानमा देउसीभैलो खेल्ने परम्परा रहँदै आएको छ। पछिल्लो समय विभिन्न स्थानमा आयोजना हुने देउसीभैलो कार्यक्रममा गीत, सङ्गीत र नृत्यका माध्यमबाट मनोरञ्जन प्रदान गर्ने क्रम पनि बढ्दै गएको छ।

यसैबीच, प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक सद्भावको संरक्षण गर्न सबैलाई आग्रह गरेको छ। सार्वजनिक कार्यक्रममा स्वेच्छाचारी तथा अमर्यादित रूपमा अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन नगर्न प्रहरीले चेतावनी दिएको छ।

यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।