काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन्। उनी बिहीबार बिहान काठमाडौंस्थित डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले कानुनअनुसार पाउने सुविधाका आधारमा रायमाझीलाई रिहा गरिएको हो। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो।
रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमा छुट पाउन निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले कानुनी व्यवस्था अध्ययन गरी उनलाई कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो।
डिल्लीबजार कारागार कार्यालयका अनुसार तिहारअघि नै अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको थियो। अदालतको पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी बिहीबार बिहान रायमाझीलाई थुनामुक्त गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण नेपाली राजनीतिमा चर्चित भ्रष्टाचार तथा ठगीसम्बन्धी मुद्दामध्ये एक हो। उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको आरोपमा विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको थियो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी पनि मुछिएका थिए। उनीमाथि लागेको मुद्दामा अदालतको फैसला तथा ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमा छुट पाउने प्रक्रिया अघि बढाइएको हो।
अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीका आधारमा रायमाझी रिहा भएको कारागार प्रशासनले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया