काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।
यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै यस पर्वको सांस्कृतिक तथा पारिवारिक महत्व स्मरण गरेका हुन् ।
उनले भाइटीकाले पारिवारिक सम्बन्धलाई बलियो बनाउनुका साथै एकअर्काप्रतिको माया, सद्भाव र सम्मान अभिवृद्धि गर्न प्रेरित गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा भाइटीकासँग जोडिएको पौराणिक कथासमेत उल्लेख गरेका छन् । पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए । त्यसक्रममा यमुनाले दाजु यमराजलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेकी थिइन् ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन दिदीबहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।
यही मान्यताअनुसार भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने परम्परा छ । यस अवसरमा दाजुभाइलाई दुबो, मखमली र सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने तथा सप्तरङ्गी टीका लगाएर विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ ।
त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिएर आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया