नेपाल संवत ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो

36 Shares

काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो।

कार्यक्रममा शङ्खधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गरिएको थियो। सहभागीहरूले नेपाल संवत् नेपालको मौलिक पहिचान र ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण तथा प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

नेपाल संवत् नेपालको मौलिक संवत् हो। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका सर्वसाधारण जनताको ऋणमोचन गराएर नयाँ संवत् सुरु गराएको ऐतिहासिक जनविश्वास रहँदै आएको छ। उहाँको यही सामाजिक योगदानको सम्मानस्वरूप नेपाल सरकारले शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिएको हो।

नेपाल संवत्ले नेपाली समाजको मौलिक इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दै आएको छ। विशेषगरी नेवार समुदायले यस संवत्को नयाँ वर्षलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन्।

नेपाल संवत्को संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामाझ यसको ऐतिहासिक महत्त्व स्थापित गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।