काठमाडौं । विदेशबाट आयात हुने मकै र भटमासको पिनाको मूल्य आकासिएपछि नेपालमा पशुपन्छीको दाना उत्पादन लागत बढेको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धिसँगै दाना उत्पादक उद्योगले मूल्य बढाउन थालेका छन्। यसको प्रत्यक्ष असर कुखुरापालन, पशुपालन तथा माछापालन व्यवसायमा पर्ने देखिएको छ। उत्पादन लागत बढ्दा दूध, अण्डा, मासु तथा अन्य पशुपन्छीजन्य उत्पादनसमेत महँगिने जोखिम बढेको छ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आयात हुने मकै प्रतिकिलो ३९ रुपैयाँमा खरिद हुने गरेको थियो। त्यस्तै, नेपाली मकैको मूल्य प्रतिकिलो ४६ रुपैयाँ रहेको थियो। तर अहिले भारतीय मकैको मूल्य बढेर प्रतिकिलो ५४ रुपैयाँ र नेपाली मकैको मूल्य ५० रुपैयाँभन्दा माथि पुगेको छ।
यसैगरी, अमेरिका र बङ्गलादेशबाट आयात हुने भटमासको पिनाको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यसअघि प्रतिकिलो ८७ देखि ८८ रुपैयाँमा उपलब्ध हुने भटमासको पिनाको मूल्य अहिले बढेर ९५ देखि ९६ रुपैयाँसम्म पुगेको सापकोटाले जानकारी दिएका छन्।
नेपालमा मकै र भटमासको पिना मुख्य रूपमा कुखुराको दाना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ हुन्। कुखुराको दानामा मकैको मात्रा ५० देखि ६० प्रतिशतसम्म र भटमासको पिना करिब २५ प्रतिशत प्रयोग हुने गर्छ। यसबाहेक दाना उत्पादनमा थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल तथा भिटामिन प्रयोग गरिन्छ।
अन्य कच्चा पदार्थको मूल्यसमेत बढेको छ। दाना उत्पादनमा प्रयोग हुने ढुटोको मूल्य प्रतिकिलो ३५ रुपैयाँबाट बढेर ४७ रुपैयाँ पुगेको छ। यसरी अधिकांश कच्चा पदार्थको मूल्य बढेपछि दाना उत्पादन गर्ने उद्योगहरू थप आर्थिक दबाबमा परेका छन्।
अध्यक्ष सापकोटाका अनुसार कच्चा पदार्थको मूल्यवृद्धिका कारण दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ। त्यसमाथि विदेशबाट आयात हुने भटमासको पिना नेपाल आइपुग्न लाग्ने समयसमेत बढेको छ। यसअघि करिब ६० दिनमा आइपुग्ने भटमासको पिना अहिले ९० दिनसम्म लाग्न थालेको छ। आयातमा हुने ढिलाइले ढुवानी तथा अन्य व्यवस्थापन खर्चसमेत बढाएको उहाँले बताउनुभयो।
नेपालमा भटमासजन्य पदार्थको वार्षिक खपत करिब तीन लाख ५० हजार मेट्रिक टन रहेको छ। उक्त परिमाणको भटमासजन्य पदार्थ तेस्रो मुलुकबाट आयात हुने गरेको छ। त्यस्तै, नेपालमा वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म मकै खपत हुने गरेको छ। जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आयात हुने र बाँकी नेपाली उत्पादनबाट आपूर्ति हुने गरेको छ।
भारतमा मकैको मूल्य बढेपछि नेपालमा उत्पादन भएको मकैको मूल्यसमेत बढेको व्यवसायीहरूको भनाइ छ। अध्यक्ष सापकोटाका अनुसार अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकैसमेत इथानोल उत्पादनका लागि भारततर्फ जाने गरेको छ। यसले नेपाली बजारमा मकैको उपलब्धता र मूल्यमा थप प्रभाव पारेको छ।
दानाको मूल्य प्रतिकिलो पाँच रुपैयाँसम्म वृद्धि
कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादक उद्योगहरूले कुखुराको दानाको मूल्यसमेत बढाएका छन्। उत्पादकहरूले ब्रोइलर कुखुराको दाना प्रतिकिलो पाँच रुपैयाँ र लेयर्स कुखुराको दाना प्रतिकिलो चार रुपैयाँले वृद्धि गरेका छन्।
हाल बजारमा कुखुराको दानाको मूल्य प्रतिकिलो ५५ देखि ७५ रुपैयाँसम्म पुगेको छ। अध्यक्ष सापकोटाका अनुसार तत्कालका लागि केही राहत मिलोस् भन्ने उद्देश्यले मूल्य वृद्धि गरिएको भए पनि वास्तविक उत्पादन लागत धान्न नसकिने अवस्था छ। त्यसैले आगामी दिनमा दानाको मूल्य थप बढ्न सक्ने उहाँको भनाइ छ।
अण्डा उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँ बढ्यो
दाना महँगिएसँगै अण्डा उत्पादन गर्ने किसानसमेत प्रभावित भएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दानाको मूल्य बढेपछि अण्डा उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म बढेको छ।
यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम गरिएको थियो। तर दानाको लागत प्रतिकिलो करिब १० रुपैयाँसम्म बढ्ने अवस्था आएपछि अण्डा उत्पादन खर्चसमेत वृद्धि भएको पोखरेलले बताउनुभयो।
उहाँका अनुसार कुखुरापालन व्यवसायमा दानाको हिस्सा ठूलो हुने भएकाले कच्चा पदार्थको मूल्यमा हुने सामान्य परिवर्तनले पनि अण्डा उत्पादन लागतमा प्रत्यक्ष असर पार्ने गर्छ। दानाको मूल्य निरन्तर बढ्दै गएमा किसानलाई व्यवसाय सञ्चालन गर्न थप कठिन हुने देखिएको छ।
कुखुराको मासु र चल्लाको उत्पादन लागत पनि बढ्यो
ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार दानाको मूल्य बढेसँगै कुखुराको मासु तथा चल्ला उत्पादन लागतसमेत वृद्धि भएको छ।
यसअघि जिउँदो ब्रोइलर कुखुराको उत्पादन लागत प्रतिकिलो करिब २१० रुपैयाँ रहेकोमा अहिले बढेर २३० रुपैयाँभन्दा माथि पुगेको उहाँले बताउनुभयो।
त्यस्तै, लेयर्स कुखुराको चल्ला उत्पादन लागत प्रतिगोटा १२० रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ। ब्रोइलर कुखुराको चल्लाको लागतसमेत प्रतिगोटा ६५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको लामिछानेको भनाइ छ।
उहाँका अनुसार दानाको कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढ्दा पशुपन्छीजन्य उत्पादनको लागतमा व्यापक वृद्धि भएको छ। यसको असर कुखुराको मासु र अण्डामा मात्र सीमित नभई गाईभैँसीको दूध, माछा तथा बङ्गुर उत्पादनमा समेत परेको छ।
उपभोक्तालाई महँगीको थप भार पर्ने चिन्ता
पशुपन्छीजन्य उत्पादनको लागत बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको भान्सासम्म पुग्ने देखिएको छ। दाना महँगिएपछि किसानले उत्पादन गर्ने दूध, अण्डा, मासु तथा माछाको लागत बढ्ने भएकाले बजार मूल्यमा समेत दबाब पर्ने व्यवसायीहरूको भनाइ छ।
विशेषगरी कुखुरापालन तथा पशुपालनमा दानाको लागत ठूलो हिस्सा हुने भएकाले अन्तरराष्ट्रिय बजारमा मकै र भटमासको मूल्यमा हुने उतारचढावले नेपाली कृषि तथा पशुपन्छीजन्य उत्पादन क्षेत्र प्रभावित हुँदै आएको छ।
कच्चा पदार्थको मूल्यवृद्धि, आयातमा हुने ढिलाइ र उत्पादन खर्चमा आएको बढोत्तरीले किसान तथा व्यवसायी दुवैलाई चुनौती थपेको छ। यसको दीर्घकालीन समाधानका लागि स्वदेशमै मकै तथा भटमासको उत्पादन वृद्धि, आयातमा निर्भरता घटाउने नीति र पशुपन्छी दाना उद्योगलाई आवश्यक कच्चा पदार्थको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिन्छ।
उत्पादन लागत निरन्तर बढ्दै गएमा किसानको व्यवसायमा आर्थिक दबाब बढ्नुका साथै सर्वसाधारण उपभोक्ताले पनि दूध, अण्डा, मासु तथा अन्य खाद्यवस्तुमा थप महँगीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया