सञ्चारमन्त्री तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

32 Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतारको दोहामा आयोजित अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियू पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाउनुभएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा आयोजित महासम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाउनुभएको हो।

महासम्मेलनका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिनुभएको छ। उक्त अवसरमा उहाँले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका लागि फ्रान्सका उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटका क्रममा फोर्नियरले नेपालसँग सम्बन्धित रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनका विषयमा छलफल गर्नुभएको थियो।

दूरसञ्चार क्षेत्रको विकास, प्रविधिको प्रभावकारी उपयोग तथा अन्तरराष्ट्रिय समन्वयका दृष्टिले स्पेक्ट्रम र भूउपग्रह कक्ष व्यवस्थापन महत्त्वपूर्ण विषय मानिन्छन्। यस क्षेत्रमा नेपालको हित र आवश्यकतासम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ।

त्यसैगरी, सञ्चारमन्त्री तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित, चासो तथा सञ्चार र सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको नेपाली दूतावासको विज्ञप्तिमा जनाइएको छ।

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनलाई विश्वव्यापी दूरसञ्चार तथा सूचना प्रविधिसम्बन्धी नीति, रणनीति र सहकार्यका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अन्तरराष्ट्रिय मञ्चका रूपमा लिइन्छ। सम्मेलनमा नेपालको सहभागिताले अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा दूरसञ्चार क्षेत्रमा सहकार्यका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।