कार्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन, बली, गोरु र हलिको पूजा

35 Shares

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत यमपञ्चकको पाँचौँ दिन आज कार्तिक शुक्ल प्रतिपदाका अवसरमा गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी गोवद्र्धन पूजा मनाइँदैछ। यस अवसरमा घरआँगन लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीक बनाएर पूजा गर्ने, गोरुलाई विभिन्न परिकार खान दिने तथा कृषि कर्ममा संलग्न किसान र हलिको सम्मान गर्ने परम्परा रहेको छ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा घरको आँगनमा गाईको गोबरबाट पर्वतको आकृति बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा स्थापना गरेर विधिपूर्वक पूजा आराधना गरिन्छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको पौराणिक घटनाको स्मरणमा गोवद्र्धन पूजा गर्ने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताएका छन्।

धार्मिक मान्यताअनुसार इन्द्रले अत्यधिक वर्षा गराएर गोकुलवासीलाई दुःख दिएपछि भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर गाउँले तथा गाईवस्तुको रक्षा गरेका थिए। यस घटनाले प्रकृति, पशुपक्षी र पर्यावरणको संरक्षण गर्नुपर्ने सन्देश दिएको विश्वास गरिन्छ। त्यसैले गोवद्र्धन पूजालाई प्रकृति र मानवबीचको सम्बन्धसँग जोडिएको पर्वका रूपमा समेत लिने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवद्र्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ। सोही धार्मिक परम्पराअनुसार आज देशभरका हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक गोवद्र्धन पर्वतको पूजा आराधना गर्दैछन्।

बली राजाको पूजा र देउसीको धार्मिक परम्परा

गोवद्र्धन पूजाकै दिन बली राजाको पनि पूजा आराधना गर्ने चलन छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएका थिए। यही धार्मिक मान्यताका आधारमा तिहारमा देउसी खेल्ने परम्परासमेत जोडिएको छ।

देउसी खेल्ने समूहले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने चलन यही पौराणिक विश्वाससँग सम्बन्धित रहेको मानिन्छ। देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक परम्परा हो। यसले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ।

गोरुको पूजा गरी मीठा परिकार खुवाइने

गोवद्र्धन पूजाका अवसरमा वर्षभरि खेतबारी जोतेर कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गोरुको पनि विशेष पूजा गरिन्छ। किसानको जीवन र कृषि प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको गोरुलाई फूलमाला लगाइदिने, टीका लगाउने तथा मीठा परिकार खुवाउने परम्परा छ।

गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत सम्मान गर्ने धार्मिक मान्यता रहेको छ। परम्परागत नेपाली कृषि प्रणालीमा गोरुको योगदान महत्त्वपूर्ण रहँदै आएको छ। आधुनिक कृषि प्रविधिको विकास भए पनि ग्रामीण क्षेत्रमा गोरुको प्रयोग र महत्त्व अझै कायम रहेको छ।

हलि तिहारका रूपमा पनि मनाइन्छ

आजको दिनलाई हलि तिहारका रूपमा समेत मनाउने गरिन्छ। वर्षभरि गोरु जोतेर खेतबारीमा खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई सम्मान गर्दै पूजा गर्ने र मीठा परिकार खुवाउने चलन छ।

कृषि प्रधान नेपाली समाजमा किसान र हलिको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो परम्परा चल्दै आएको मानिन्छ। अन्न उत्पादनदेखि परिवारको जीविकोपार्जनसम्म किसानको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरूको श्रम र योगदानको कदर गर्ने अवसरका रूपमा पनि यस दिनलाई लिइन्छ।

गोवद्र्धन पूजा केवल धार्मिक आस्थामा सीमित नभई प्रकृति संरक्षण, पशुपक्षीप्रतिको माया, कृषि कर्मको सम्मान र सामाजिक सद्भावको सन्देश बोकेको पर्व हो। नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक विश्वासको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्त्व बुझाउनु आजको दिनको अर्को महत्त्वपूर्ण पक्ष हो।