नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनलाई लिएर सामाजिक सञ्जालमा फैलिएका अपुष्ट आरोपको पछि नलाग्न आग्रह गर्नुभएको छ । सोमबार काभ्रेपलाञ्चोकमा आयोजित पार्टीको जिल्ला स्तरीय कार्यक्रममा बोल्दै शर्माले महाधिवेशनमा आर्थिक चलखेल भएको भन्ने प्रचारलाई तथ्य र प्रमाणबिना विश्वास गर्न नहुने बताउनुभयो ।
गगन थापा र आफूले पार्टी नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ खर्च गरेको भन्ने आरोपप्रति असन्तुष्टि जनाउँदै उहाँले राजनीतिक विषयमा निष्कर्ष निकाल्दा हल्लाभन्दा प्रमाणलाई आधार बनाउनुपर्ने धारणा राख्नुभयो । शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेको जिकिर गर्नुभयो ।
महाधिवेशन प्रतिनिधिहरूको निर्णयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्नुभन्दा त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । शर्माले काभ्रे काँग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । पार्टीलाई जनतासँग जोड्न गाउँ तथा टोलस्तरमा पुगेर कार्यकर्ताबीच विश्वास र एकता बढाउनुपर्ने उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया