दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।
श्रेष्ठका अनुसार चालु वर्ष विभिन्न वडामा गरी २० दशमलव पाँच रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । सबैभन्दा बढी म्याग्दे गाउँपालिका(४ छिम्लीश्वारामा १६ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । यहाँ चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सामूहिक रूपमा फूलखेती गरेको हो ।
त्यस्तै, सोही वडाका घन विक्रम आलेले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन् । म्याग्दे गाउँपालिका(६ सिम्लेका सन्तोष श्रेष्ठले दुई रोपनी र वडा नम्बर ५ थाङ्दीकी सविना थापाले आधा रोपनी क्षेत्रफलमा फूलखेती गरेकी छिन् । बजार पाएपछि फूलखेतीको क्षेत्रफल विस्तार हुँदै गएको किसान बताउँछन् ।
म्याग्दे(४ छिम्लीश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले अघिल्लो वर्ष छ रोपनी क्षेत्रफलमा सयपत्री लगाएको थियो । उत्पादित फूलले बजारमा माग बढी आएपछि यस वर्ष क्षेत्रफल बढाएर १६ रोपनी पुर्याइएको समूहकी अध्यक्ष जितमाया रानाले बताएकी छिन् । अघिल्लो वर्षको उत्पादन बिक्री गर्न सहज भएपछि किसानमा फूलखेतीप्रति थप उत्साह जागेको उनको भनाइ छ ।
बजारको सम्भावना देखेपछि समूहले यस वर्ष थप क्षेत्रफलमा खेती गरेको हो । “अघिल्लो वर्ष छ रोपनीमा सयपत्री लगाएका थियौँ । उत्पादन भएको फूलले राम्रो बजार पाएपछि थप उत्साहित भएका छौँ । बिक्रीमा समस्या नभएपछि यस वर्ष क्षेत्रफल विस्तार गरेर १६ रोपनीमा खेती गरेका छौँ”, रानाले भनिन् ।
अनुदानले फूलखेतीमा आकर्षण
गाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि आफू पनि फूलखेतीमा आकर्षित भएको म्याग्दे(६ सिम्लेका कृषक सन्तोष श्रेष्ठले बताएका छन् । उनले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन् । किसानलाई प्रोत्साहन गर्ने स्थानीय सरकारको कार्यक्रमले नयाँ खेती गर्न हौसला मिलेको उनको भनाइ छ । तर, उत्पादन गरेर मात्रै नहुने भएकाले उत्पादित फूलको बिक्रीवितरणको व्यवस्था पनि मिलाउनुपर्ने उनले बताएका छन् ।
“गाउँपालिकाले अनुदान दिएर प्रोत्साहन गरेपछि फूलखेती सुरु गरेको हुँ । किसानलाई स्थानीय सरकारले सहयोग गर्दा नयाँ खेती गर्न उत्साह मिल्दो रहेछ”, किसान श्रेष्ठले भने, “अब म्याग्देमै उत्पादन भएको फूल स्थानीयस्तरमै बिक्रीवितरण हुने व्यवस्था मिलाउनुपर्छ ।” उनले तिहारका बेला भारतबाट फूल आयात हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउने वातावरण बनाउन सके किसानलाई थप प्रोत्साहन मिल्ने उनको धारणा छ ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्छ । घर, मठमन्दिर तथा विभिन्न पूजाआजामा फूल र मालाको प्रयोग हुने भएकाले यस समयमा फूलको खपत बढ्छ । मागअनुसार स्थानीय उत्पादन पर्याप्त नहुँदा विगतमा बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहँदै आएको छ । स्थानीयस्तरमै खेती विस्तार गर्न सके बाहिरबाट आउने फूलको निर्भरता घटाउन सकिने किसानको अपेक्षा छ ।
म्याग्देमा उत्पादन भएको सयपत्री फूल गाउँपालिकाभित्रै खपत हुने गरी बिक्रीवितरणको व्यवस्था मिलाउनुपर्ने उनीहरूको सुझाव छ । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार पालिकाभित्र आवश्यक पर्ने फूल यहीँ उत्पादन गर्ने उद्देश्यले अनुदान कार्यक्रम अघि बढाइएको हो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किसानको आम्दानी बढाउने र गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताएका छन् ।
म्याग्देमा सयपत्री फूलखेतीको विस्तारले स्थानीय किसानका लागि आम्दानीको नयाँ सम्भावना खोलेको छ । तरकारी तथा फलफूलखेती गर्दै आएका किसानसमेत फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । सामूहिक र व्यक्तिगत दुवै रूपमा खेती विस्तार हुनुले स्थानीयस्तरमा फूलखेतीप्रतिको चासो बढेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया