काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् दीपावलीको महत्त्वपूर्ण दिनका रूपमा आज कुकुर तिहार विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ । यस अवसरमा घरघरमा सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने तथा मीठा–मीठा खानेकुरा खान दिएर पूजा आराधना र सम्मान गर्ने गरिन्छ ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने धार्मिक मान्यता रहेको छ ।
हिन्दू धर्मशास्त्रअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुर प्रसन्न हुने तथा यमलोकको यात्रा गर्दा बाटो सहज बनाइदिने धार्मिक विश्वास छ । यही मान्यताका आधारमा प्रत्येक वर्ष कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
धार्मिक मान्यताअनुसार कुकुरलाई वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको जनावरका रूपमा समेत उल्लेख गरिएको छ । महाभारतको कथाअनुसार धर्मराज युधिष्ठिरले स्वर्ग यात्राका क्रममा कुकुरलाई समेत साथ दिएका थिए । यसले कुकुरप्रतिको निष्ठा, इमानदारी र साथको महत्त्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा स्थापित गरेको छ ।
कुकुरलाई मानिसको आज्ञापालक, इमानदार र भरपर्दो साथीका रूपमा लिइन्छ । घरको सुरक्षा गर्ने मात्र नभई अपराध अनुसन्धान, उद्धार, सीमा सुरक्षा तथा विभिन्न जोखिमपूर्ण कार्यमा समेत कुकुरको प्रयोग हुँदै आएको छ । मानिससँग लामो समयदेखि नजिकको सम्बन्ध कायम गर्दै आएको कुकुरलाई विशेष सम्मान गर्ने उद्देश्यले कुकुर तिहार मनाउने परम्परा रहिआएको छ ।
यस दिन कुकुरलाई फूलमाला र टीका लगाएर मीठा खानेकुरा खुवाउने गरिन्छ । घरमा पालिएका कुकुरसँगै सडकमा रहेका तथा घरबारविहीन कुकुरलाई समेत खाना खुवाउने र माया तथा संरक्षण प्रदान गर्ने प्रचलन बढ्दै गएको छ । कुकुर तिहारले पशुप्रति दया, माया, सद्भाव र जिम्मेवारी निर्वाह गर्नुपर्ने सन्देशसमेत दिने गरेको छ ।
कुकुर तिहारसँगै आज नरक चतुर्दशी पनि धार्मिक विधिअनुसार मनाइँदैछ । यस दिन बिहान अरुणोदयकालमा विभिन्न तीर्थस्थल, नदी तथा तलाउमा गई स्नान र तर्पण गर्ने परम्परा छ ।
धर्मशास्त्रविद् गौतमका अनुसार नरक चतुर्दशीका दिन यमदीप दक्षिण दिशातर्फ फर्काएर बाल्ने र नदीमा बगाउने धार्मिक विधि रहेको छ । यसरी दीप बालेर बगाउँदा मृत्युपश्चात् नरकको दर्शन गर्न नपर्ने धार्मिक विश्वास छ । बत्ती बालेर बगाउने यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परासमेत रहेको छ । धार्मिक तथा सांस्कृतिक मान्यतासँगै आयुर्वेदिक दृष्टिकोणबाट पनि शरीरको सरसफाइ र स्वास्थ्य सुरक्षालाई महत्त्व दिइने भएकाले तिहारका यी विधिहरूलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।
यसरी कुकुर तिहार र नरक चतुर्दशीले धार्मिक आस्था, परम्परा र प्रकृतिका विभिन्न जीवजन्तुप्रतिको सम्मानलाई उजागर गर्छन् । मानिसको सुरक्षामा साथ दिने कुकुरप्रति कृतज्ञता व्यक्त गर्नुका साथै सबै प्राणीप्रति दया, करुणा र सद्भाव राख्नुपर्ने सन्देश यस पर्वले दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया