काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा ‘काग सम्मेलन’ सम्पन्न गरेका छन्। आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर कागलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले आयोजना हुँदै आएको सम्मेलन शनिबार बिहान सम्पन्न भएको हो।
राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा काठमाडौंको नारायणहिटी दरबारमार्ग परिसरमा २३औँ काग सम्मेलन गरिएको हो। बिहान आयोजित कार्यक्रममा कलाकार दुलालले आफ्नै मुखबाट कागको आवाज निकालेर आकाशमा सयौँ काग भेला पारेका थिए।
१७३ प्रकारका जीवजनावर तथा चराचुरुङ्गीको हुबहु आवाज निकाल्न खप्पिस दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारका दिन काग सम्मेलन गर्दै आएका छन्। उनले कागको आवाज निकाल्न थालेपछि केही समयमै परपरका क्षेत्रबाट कागहरू उडेर कार्यक्रममा आएका थिए। उनको आवाज सुनेर आकाशमा कागहरूको जमघट देखिएको थियो।
सवारीसाधनको चर्को आवाज र सडकको कोलाहलका कारण कागलाई बोलाउन कठिन हुने तथा आवाज स्पष्ट नसुनिने भएकाले यस वर्षको कार्यक्रम बिहान ५:३० बजेदेखि ६:३० बजेसम्म सञ्चालन गरिएको थियो। बिहानको शान्त वातावरणमा कागको आवाज निकाल्दा त्यसको प्रभावकारीता बढ्ने भएकाले निर्धारित समयमै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका दुलालले यो सम्मेलनलाई निरन्तरता दिँदै आएको २३ वर्ष पुगेको बताए। आगामी २५औँ वर्षको अवसरमा भने ठूलो स्टेज निर्माण गरी सम्मेलनलाई अझ भव्य रूपमा मनाउने योजना रहेको उनले सुनाए। हरेक वर्ष काग तिहारका दिन आयोजना हुँदै आएको सम्मेलनलाई आगामी दिनमा थप व्यवस्थित र आकर्षक बनाउने उनको तयारी छ।
काग तिहारका अवसरमा आयोजित सम्मेलनमार्फत दुलालले देशको विकास र राजनीतिक नेतृत्वप्रति आफ्नो आशावादी धारणा पनि व्यक्त गरेका छन्। उनले नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अघि बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकारहरूको सहभागिता रहेको थियो।
नेपाली संस्कृतिमा काग तिहारको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ। तिहारको पहिलो दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ। यही सांस्कृतिक परम्परालाई कलासँग जोड्दै कलाकार दुलालले प्रत्येक वर्ष काग सम्मेलन आयोजना गर्दै आएका छन्। उनको यो प्रयासले काग तिहारलाई थप आकर्षक बनाउनुका साथै नेपाली मौलिक संस्कृति र चराचुरुङ्गीप्रतिको चासोलाई उजागर गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया