पाल्पामा फूल खेतीबाट आम्दानीको आशा, तिहार लक्षित उत्पादनमा किसान व्यस्त; चार रोपनीमा फूल लगाएर ६ लाख कमाउने लक्ष्य

28 Shares

काठमाडौं । तिहार नजिकिएसँगै पाल्पाका खेतबारीमा सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन्। पहेँलपुर फूलले गाउँका पाखा तथा बारीको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको आशासमेत बढाएको छ। चाडपर्वलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने तयारीमा जुटेका छन्।

तिहारमा फूल तथा मालाको माग उच्च हुने भएकाले पाल्पाका किसानले व्यावसायिक फूल खेतीलाई प्राथमिकता दिएका छन्। बाँझो तथा प्रयोगविहीन जमिनको सदुपयोग गर्दै फूल खेतीमा लागेका किसानले यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखाएका छन्।

रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोइराला र उनका छोरा खिमराज कोइराला यतिबेला फूल टिप्न र बिक्रीको तयारी गर्न व्यस्त छन्। उनीहरूले धर्तीमाता कृषि फार्ममार्फत दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका हुन्।

कोइराला परिवारले चार रोपनी क्षेत्रफलमा लगाएको फूल अहिले ढकमक्क फुलेको छ। फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, परिवारका लागि आम्दानीको नयाँ स्रोतसमेत बनेको छ। फार्मका सञ्चालक खिमराजका अनुसार यस वर्ष फूल खेतीबाट करिब ६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ।

उनले उत्पादन भएको फूल पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पुर्‍याउने योजना बनाएका छन्। तिहारका समयमा थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ।

उपभोक्तालाई सहज रूपमा फूल उपलब्ध गराउन घरदैलोमै फूल तथा माला पुर्‍याउने व्यवस्था पनि मिलाइएको खिमराजले बताएका छन्।

बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत खिमराजले कार्यालयको कामपछि बाँकी समय फूल खेतीमा लगाउँदै आएका छन्। फूल खेतीका लागि आवश्यक प्राविधिक व्यवस्थापन, मलजल, बिरुवाको वृद्धि र उत्पादनको रेखदेखमा उनी आफैँ सक्रिय छन्।

आमा इन्दिराले भने फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छन्। आमा–छोराको संयुक्त मेहनतबाट चार रोपनी जग्गामा व्यावसायिक फूल खेती विस्तार गरिएको हो।

इन्दिराका अनुसार वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्ता जमिनको सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण फूल खेतीले दिएको छ।

कोइराला परिवारले उत्पादन गरेका फूल उपभोक्ताको मागअनुसार रुपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म पठाउने गरेको छ। स्वदेशमै उत्पादन भएका फूलले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको इन्दिराको भनाइ छ।

पाल्पामा कोइराला परिवार मात्र नभई अन्य किसान पनि व्यावसायिक फूल खेतीमा आकर्षित भएका छन्। बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रेष्ठले पनि फूल खेती गर्दै आएका छन्।

बस्यालले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन्। त्यस्तै, श्रेष्ठले पनि आफ्नो बारीभरि फूल खेती गरेका छन्। चाडपर्व नजिकिएसँगै उनीहरूको दैनिकी फूलको स्याहार, टिपाइ र बजार व्यवस्थापनमै बित्ने गरेको छ।

जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट र रम्भालगायतका क्षेत्रमा किसानले व्यावसायिक रूपमा फूल उत्पादन गर्दै आएका छन्। स्थानीय किसानले उत्पादन गरेका फूलले तिहारको माग धान्न सहयोग पुग्नुका साथै स्थानीय स्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको छ।

तिहारमा सयपत्री र मखमली फूलको विशेष महत्व रहने भएकाले यस समयमा फूलको माग उल्लेख्य रूपमा बढ्ने गर्दछ। घर, मन्दिर तथा विभिन्न धार्मिक स्थल सजाउन र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला बनाउन फूलको प्रयोग हुने भएकाले किसानले तिहारलाई मुख्य बजारका रूपमा लिने गरेका छन्।

स्थानीय उत्पादनले बजार पाउन सके किसानको आम्दानी बढ्नुका साथै बाहिरबाट फूल आयात गर्नुपर्ने निर्भरता पनि घटाउन सकिने देखिन्छ। उचित बजार व्यवस्थापन, उत्पादनको बजारीकरण र आयातित फूलको नियमन हुन सके पाल्पाको फूल खेती थप विस्तार हुने किसानको अपेक्षा छ।

बाँझो जमिनमा फूल फुलाएर आम्दानीको बाटो खोजिरहेका पाल्पाका किसानले मेहनत र व्यावसायिक सोचबाट कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएका छन्।