काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्नुभएको छ । उहाँले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबर रहेको जानकारी दिनुभएको हो ।
शुक्रबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले चरणबद्ध कार्ययोजना अघि बढाएको बताउनुभयो । उहाँका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोले मात्रै २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याएको प्रारम्भिक आकलन गरिएको छ ।
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माणलाई सामान्य रूपमा क्षतिग्रस्त संरचना मर्मत गर्ने काममा मात्र सीमित नराखी ‘बिल्डिङ ब्याक बेटर’ अर्थात् पहिलेभन्दा सुरक्षित, बलियो र समृद्ध पूर्वाधार निर्माण गर्ने अवधारणाअनुसार अघि बढाउनुपर्ने बताउनुभयो । यसका लागि ठूलो लगानी आवश्यक पर्ने उहाँको भनाइ छ ।
उहाँले विपद् गएको पाँच दिनभित्रै गरिएको र्यापिड ड्यामेज निड्स एसेसमेन्ट (आरडीएनए) तथा विश्व बैंकको ग्रेड मेथोडोलोजीका आधारमा पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘पाँच दिनभित्रै गरिएको र्यापिड ड्यामेज निड्स एसेसमेन्ट (आरडीएनए) र विश्व बैंकको ग्रेड मेथोडोलोजी दुवैले करिब ४.७ देखि ५ अर्ब डलरसम्मको पुनर्निर्माण आवश्यकता देखाएको छ ।’
उहाँले पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्दा उपलब्ध रकमको उचित उपयोग र दीर्घकालीन योजनालाई विशेष ध्यान दिइने स्पष्ट पार्नुभयो । सरकारले करिब ६ महिनाको समयसीमा राखेर पूर्वाधार तथा कृषि क्षेत्रको राहत र पुनर्निर्माणलाई प्राथमिकता दिने योजना बनाएको पनि उहाँले बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भएको करिब १८ अर्ब रुपैयाँलाई अर्थमन्त्री वाग्लेले सरकारप्रति जनताको उच्च विश्वास र सहयोगको उदाहरणका रूपमा व्याख्या गर्नुभयो । विपद्का बेला स्वदेश तथा विदेशबाट प्राप्त सहयोगलाई सरकारले जिम्मेवारीपूर्वक परिचालन गर्ने उहाँको भनाइ छ ।
उहाँले कोषमा जम्मा भएको रकम जथाभावी वितरण नगरिने स्पष्ट पार्दै आवश्यकताको मूल्याङ्कन, निर्धारित कार्यविधि र प्राथमिकताका आधारमा मात्र खर्च गरिने बताउनुभयो । विपद् प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै भविष्यमा आउन सक्ने अन्य विपद्का लागि समेत स्रोत सुरक्षित राख्नुपर्ने उहाँको धारणा छ ।
बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउने तत्कालको योजना नरहेको जानकारी दिनुभयो ।
सरकारले अहिले विनियोजित बजेटभित्रै विभिन्न कार्यक्रमको पुनःप्राथमिकीकरण गरेर पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । आवश्यकताअनुसार पूर्वाधार मन्त्रालयलाई पुनर्निर्माणको जिम्मेवारी दिने तथा आगामी आर्थिक वर्षको बजेटमा समेत विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गर्ने सरकारको योजना रहेको उहाँको भनाइ छ ।
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोले सडक, पुल, जलविद्युत् आयोजना, बस्ती, कृषि क्षेत्र तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । यसले प्रभावित नागरिकको जनजीवन, स्थानीय अर्थतन्त्र र विकास निर्माणका गतिविधिमा समेत गम्भीर असर पारेको छ ।
यस्तो अवस्थामा पुनर्निर्माणका लागि आवश्यक पर्ने ठूलो रकम जुटाउनु सरकारका लागि चुनौतीपूर्ण देखिएको छ । तर, उपलब्ध स्रोतको प्रभावकारी परिचालन, बजेटको पुनःप्राथिकीकरण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगमार्फत पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउने सरकारको तयारी रहेको अर्थमन्त्री वाग्लेले बताउनुभएको छ ।
सरकारको आगामी कार्ययोजनाले प्रभावित नागरिकको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालनमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया