यू–१९ एसिया कप ः भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

173 Shares


एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली युवा टोली बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

नेपाली टोलीको नेतृत्व विपिन शर्माले गरिरहेका छन् । भारतको कप्तानी लक्ष्य राजेश रायचन्दानीले सम्हालेका छन् । भारतको टोलीमा आर्यवीर सहवाग र अन्वय द्रविडजस्ता युवा खेलाडी पनि छन् । क्रमशः पूर्वभारतीय क्रिकेटर वीरेन्द्र सहवाग र राहुल द्रविडका छोरा हुन् ।

घरेलु उमेर समूहको क्रिकेटमा राम्रो प्रदर्शन गर्दै टोलीमा स्थान बनाएका यी खेलाडीमाथि पनि दर्शकको विशेष चासो रहनेछ । नेपालका लागि भने यो खेल प्रतियोगिताको महत्वपूर्ण अवसर हो । भारत उमेर समूहको क्रिकेटमा बलियो टोली मानिए पनि नेपालले आफ्नो क्षमता देखाउने अवसर पाएको छ ।

ब्याटिङमा जिम्मेवार प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पार्न सके नेपाली टोलीले भारतलाई दबाबमा राख्न सक्छ । नेपालले यसअघि ओमानसँग खेलेको खेलमा २८० रन बनाएको थियो । तर, उक्त खेलमा नेपाल १० रनले पराजित भएको थियो । त्यसैले ओमानको मैदानमा नेपाली ब्याटिङले राम्रो योगफल बनाउन सक्ने सम्भावना देखाइसकेको छ । समूह ‘ए’ मा नेपाल र भारतसँगै पाकिस्तान तथा संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारतसँगको यो खेलमा नेपालको मुख्य चुनौती ब्याटिङलाई निरन्तरता दिनु र बलियो विपक्षीविरुद्ध दबाब सम्हाल्नु हुनेछ । प्रतियोगितामा अघि बढ्ने सम्भावना बलियो बनाउन नेपालका लागि प्रत्येक खेल महत्वपूर्ण छ ।