काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख गर्दै सरकारका कामकारबाहीमा आवश्यकताअनुसार सुझाव दिने र खबरदारी गर्ने अभ्यासलाई विवादका रूपमा बुझ्न नहुने बताएका छन्।
बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी र सरकारबीच समन्वयको कुनै समस्या नरहेको दाबी गरेका हुन्। उनका अनुसार सरकारलाई आफ्नो जिम्मेवारीअनुसार स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा छ।
“समन्वयको कुनै पनि कमी छैन। खाली एउटै चिज के भने, सरकारलाई मजाले काम गर्न दिनुपर्छ भन्ने पार्टीको धारणा हो,” लामिछानेले भने।
उनले पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल गर्ने, सुझाव दिने तथा कुनै निर्णयबारे स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा व्याख्या गर्न नहुने बताए। पार्टीले सरकारका सबै निर्णयमा समर्थन जनाउनुपर्ने बाध्यता नरहेको उनको भनाइ थियो।
सभापति लामिछानेले विगतमा सरकार टिकाउन वा पार्टीभित्र एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई राखेर काम गर्ने राजनीतिक अभ्यास आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पारे। पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारी र अधिकारअनुसार काम गर्नुपर्ने उनको धारणा छ।
“हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जतिखेर सरकारै टिकाइराख्नका लागि, पार्टीमा एकता नै कायम गर्नका लागि, छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ,” उनले भने।
सरकारका निर्णयमाथि प्रश्न उठेमा पार्टीले त्यसबारे स्पष्टता माग्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लामिछानेले सरकारका निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित सरकारकै हुने बताए। पार्टीले सरकारलाई काम गर्न आवश्यक वातावरण दिने तर गलत निर्णय वा कमजोरी देखिए खबरदारी गर्ने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक (आइजिपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टता मागेको प्रसङ्गमा पनि लामिछानेले आफ्नो धारणा राखेका थिए। सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने भएकाले सरकारले उपयुक्त समयमा त्यसको औचित्य पुष्टि गर्ने उनको भनाइ थियो।
“पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यकपर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ,” उनले भने।
सरकारका कामकारबाहीमा सुधार आवश्यक देखिए पार्टीले खबरदारी गर्ने बताउँदै उनले त्यसलाई पार्टी र सरकारबीचको विवादका रूपमा चित्रण नगर्न सञ्चारकर्मीलाई आग्रह गरे। लोकतन्त्रमा सरकारलाई जिम्मेवार बनाउने र उसका निर्णयमाथि प्रश्न उठाउने काम राजनीतिक दलको दायित्वभित्र पर्ने उनको आशय थियो।
लामिछानेले लोकतन्त्रका मूल्य, मान्यता र संवैधानिक व्यवस्थाप्रति आफ्नो पार्टी स्पष्ट रहेको पनि बताए। आवश्यक परेको अवस्थामा सरकारलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका खेल्ने उल्लेख गर्दै उनले राज्यका विभिन्न निकायलाई संविधान र कानुनले दिएको अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न दिनुपर्ने धारणा राखे।
अनुसन्धानका विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने बताउँदै उनले प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल तथा राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। कुनै निकायबाट गलत काम भए त्यसलाई सच्याउने संवैधानिक तथा संस्थागत व्यवस्था रहेको उनको भनाइ थियो।
सरकार र पार्टीबीचको सम्बन्धबारे उठिरहेका प्रश्नलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले सरकारलाई काम गर्न दिने, आवश्यकताअनुसार सुझाव दिने र गलत काम भए खबरदारी गर्ने अभ्यासलाई लोकतान्त्रिक राजनीतिक संस्कारका रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनको अभिव्यक्तिले रास्वपाले सरकारको दैनिक कार्यसम्पादनमा प्रत्यक्ष हस्तक्षेप नगर्ने तर नीतिगत निर्णय तथा कामकारबाहीमा आवश्यक निगरानी र जवाफदेहिताको भूमिका निर्वाह गर्ने सन्देश दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया