कोरला नाका ः बाढीपहिरो र हिमपातले व्यापारमा बारम्बार अवरोध

172 Shares

नेपाल र चीनबीचको महत्वपूर्ण व्यापारिक नाका कोरला पछिल्लो समय प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ । कहिले बाढीपहिरोले सडक अवरुद्ध हुने त कहिले हिमपातले आवागमन रोकिँदा नाका सञ्चालनमा चुनौती थपिएको छ ।

यस वर्ष कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकका विभिन्न स्थानमा क्षति पु¥याएपछि केही समय यातायात प्रभावित भएको थियो । सडक मर्मत गरी सञ्चालनमा ल्याइए पनि पछिल्लो हिमपातका कारण पुनः नाका क्षेत्रमा समस्या देखिएको छ ।

उपल्लो मुस्ताङमा बाक्लो हिउँ जम्दा सवारीसाधनको आवागमन कठिन बनेको छ । सडकमा जमेको हिउँ हटाउन लोमान्थाङ गाउँपालिका र सुरक्षाकर्मी परिचालित भएका छन् । चीनको स्थानीय सरकारले समेत हिउँ पन्छाउन बुल्डोजर उपलब्ध गराएको छ । तर चिसोका कारण हिउँ पुनः जम्ने समस्या कायमै छ ।

रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका चीनसँगको व्यापारका लागि महत्वपूर्ण विकल्प बनेको छ । यस नाकाबाट विद्युतीय सवारीसाधनसहित चिनियाँ सामान आयात हुने क्रम बढेको छ । तर प्राकृतिक अवरोधसँगै आवश्यक पूर्वाधारको अभावले व्यापार सहज हुन सकेको छैन । सीमा क्षेत्रमा भन्सार, क्वारेन्टाइन तथा अन्य सरकारी कार्यालयका पर्याप्त संरचना निर्माण नहुँदा व्यवसायी र कर्मचारीले समेत कठिनाइ भोग्नुपरेको छ ।

एकीकृत भन्सार र सुख्खा बन्दरगाह निर्माणको योजना अघि बढे पनि त्यसले अझै पूर्णता पाउन सकेको छैन । व्यापारिक सम्भावना बढ्दै गएको कोरला नाकालाई व्यवस्थित र वर्षैभरि सञ्चालनयोग्य बनाउन सडक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण तथा सरकारी निकायको प्रभाकारी उपस्थितिमा जोड दिनुपर्ने देखिएको छ ।