कञ्चनपुर । सानो लगानी, निरन्तर मेहनत र व्यवसायप्रतिको लगाव भयो भने आफ्नै गाउँठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियाका युवा दमन चन्द। उनले बिरुवा उत्पादन तथा बिक्री गर्ने नर्सरी व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्।
दश वर्षअघि जम्मा ५० हजार रुपैयाँ लगानी गरेर नर्सरी व्यवसाय सुरु गरेका चन्दले अहिले वार्षिक ६० लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका छन्। उनको नर्सरीमा फलफूलका बिरुवादेखि घर, होटल, रेस्टुरेन्ट तथा पार्क सजावटमा प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा उपलब्ध छन्।
सुरुमा परम्परागत व्यवसायमा संलग्न रहेका चन्दले त्यसबाट अपेक्षित आम्दानी गर्न नसकेपछि नयाँ व्यवसायको खोजी गरेका थिए। नर्सरी स्थापना गर्नुअघि उनको परिवारले कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएको थियो। तर, विद्युत् अनियमितता, कामदारको अभाव र बैंकको ऋण बढ्दै गएपछि उनले व्यवसाय परिवर्तन गर्ने निर्णय गरे।
“नर्सरी स्थापना गर्नुअघि हाम्रो कुटानी–पिसानीको मिल थियो। त्यसमा कहिले बिजुली नहुने, कहिले कामदार नपाइने समस्या थियो। बैंकको ऋण थपिँदै गयो,” चन्दले भने, “त्यसपछि सजिलो उपायको खोजी गर्दै कृषि व्यवसायमा लाग्यौँ। अहिले राम्रो अवस्थामा छौँ।”
साइकलबाट सुरु भएको बिरुवा बिक्रीको यात्रा
चन्दको नर्सरी व्यवसायको सुरुवात निकै सामान्य तरिकाले भएको थियो। उनले भारतीय व्यापारीहरूलाई साइकलमा बिरुवा राखेर बिक्री गर्दै राम्रो आम्दानी गरेको देखेका थिए। उनीहरू दैनिक १० हजार रुपैयाँसम्म कमाएर फर्किने गरेको देखेपछि आफूलाई पनि यस व्यवसायप्रति आकर्षण बढेको उनले बताए।
“भारतीय व्यापारी यहाँ आएर साइकलमा बिरुवा घुमाएर दैनिक १० हजार रुपैयाँसम्म आम्दानी गरेर जान्थे,” उनले भने, “त्यसमा राम्रो आम्दानी देखेपछि हामीले पनि साइकलमा बोटबिरुवा लिएर बिक्री गर्न थाल्यौँ। महिनामा २० हजार रुपैयाँसम्म आम्दानी हुन थाल्यो।”
साइकलमा बिरुवा बिक्री गरेर सुरु भएको उनको व्यवसाय क्रमशः विस्तार हुँदै गयो। बिरुवाको माग र बजारको सम्भावना बुझ्दै गएपछि उनले व्यवस्थित नर्सरी स्थापना गर्ने योजना बनाए। त्यसपछि जग्गा व्यवस्थापन गरी व्यावसायिक रूपमा फलफूल तथा सजावटका बिरुवा उत्पादन गर्न थाले।
सवा दुई बिघा जग्गामा १५ हजार बिरुवा
हाल चन्दले आफ्नो र भाडामा लिएको गरी सवा दुई बिघा जग्गामा नर्सरी सञ्चालन गरिरहेका छन्। वार्षिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी डेढ बिघा जग्गा लिएका उनले आधा बिघा आफ्नै जग्गामा समेत बिरुवा उत्पादन गर्दै आएका छन्।
उनको नर्सरीमा अहिले करिब १५ हजार बिरुवा रहेका छन्। करिब ७० प्रतिशत बिरुवा आफैँ उत्पादन गर्ने र बाँकी आवश्यकताअनुसार अन्य स्थानबाट ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिए।
“सवा दुई बिघा जग्गामा अहिले १५ हजार बिरुवा छन्। यसबाट वार्षिक ६० लाख रुपैयाँसम्मको कारोबार हुन्छ,” चन्दले भने, “सबै लागत घटाएर वर्षमा १५ लाख रुपैयाँसम्म बचत हुन्छ।”
उनले आफ्नो उत्पादन कञ्चनपुरमा मात्रै सीमित नराखी कैलालीलगायत आसपासका जिल्लामा समेत बिक्री गर्दै आएका छन्। स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि ग्राहक आउन थालेपछि व्यवसाय विस्तारमा थप सहज भएको उनको अनुभव छ।
घर, होटल र रेस्टुरेन्टबाट बढ्दो माग
पछिल्लो समय घर तथा भवन निर्माणसँगै हरियाली र प्राकृतिक सजावटप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ। विशेषगरी आधुनिक घर, होटल, रेस्टुरेन्ट, पार्क तथा कार्यालय सजावटका लागि विभिन्न प्रजातिका बोटबिरुवाको माग बढिरहेको चन्द बताउँछन्।
उनको नर्सरीमा अहिले ४५ प्रकारका बिरुवा उपलब्ध छन्। बिरुवाको प्रकार र आकारअनुसार २०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म मूल्य पर्ने बोटबिरुवा बिक्रीका लागि राखिएका छन्।
“अहिले घर सजावट र होटल रेस्टुरेन्टबाट माग आउने गरेको छ,” उनले भने, “नर्सरीमा ४५ प्रकारका बिरुवा छन्। २०० देखि १० हजार रुपैयाँसम्मका बिरुवा उपलब्ध छन्।”
ग्राहकको चाहना र बजारको मागअनुसार आधुनिक सजावटमा प्रयोग हुने बिरुवाको उत्पादन तथा बिक्रीलाई प्राथमिकता दिइरहेको उनले बताए। नयाँ घर निर्माण गर्ने अधिकांश ग्राहकले घरको सौन्दर्य बढाउन विभिन्न प्रजातिका बिरुवा खरिद गर्ने गरेको उनको भनाइ छ।
“बजारको समस्या छैन। अहिले नयाँ घर बनाउनेले बोटबिरुवा लगिहाल्छन्,” उनले भने, “आधुनिक सजावटका बोटबिरुवा उत्पादन गरिरहेका छौँ, त्यहीअनुसारको माग आउने गरेको छ।”
नर्सरीकै आम्दानीबाट जग्गा र नयाँ घर
सानो पुँजीबाट सुरु गरेको व्यवसायले अहिले चन्दको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। नर्सरीबाट भएको आम्दानीकै आधारमा उनले दुई कट्ठा जग्गा खरिद गर्नुका साथै नयाँ घरसमेत निर्माण गरेका छन्।
व्यवसायलाई निरन्तरता दिँदै जाँदा आम्दानी बढेको र परिवारको आर्थिक अवस्था पनि क्रमशः सुधार हुँदै गएको उनको अनुभव छ। हाल उनले सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराएर दुई जना कर्मचारीलाई रोजगारीसमेत दिएका छन्।
उनको सफलताले स्थानीय स्तरमै कृषि तथा नर्सरी व्यवसायमार्फत स्वरोजगार बन्न सकिने सम्भावना देखाएको छ।
आधुनिक प्रविधि र चिनियाँ डिजाइनका गमला बनाउने तयारी
नर्सरी व्यवसायलाई थप व्यवस्थित, गुणस्तरीय र आधुनिक बनाउने उद्देश्यले चन्दले प्रयोगशालासमेत निर्माण गरेका छन्। प्रयोगशालामार्फत बिरुवा उत्पादन, हुर्काउने प्रक्रिया र गुणस्तर सुधारका लागि आधुनिक प्रविधि प्रयोग गर्ने उनको योजना छ।
आधुनिक प्रविधिको प्रयोगले बिरुवाको उत्पादन बढाउनुका साथै गुणस्तरीय बिरुवा बजारमा उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास छ।
त्यस्तै, ग्राहकको बढ्दो रुचि र बजारको मागलाई ध्यानमा राख्दै उनले चिनियाँ डिजाइनका गमला उत्पादन तथा बिक्री गर्ने तयारीसमेत गरेका छन्।
“यसपटक हामी चिनियाँ डिजाइनका गमला बनाएर बिक्री गर्ने तयारीमा छौँ,” उनले बताए।
मेहनत गरे आफ्नै ठाउँमा सम्भावना
नेपालमा रोजगारीको खोजीमा ठूलो सङ्ख्यामा युवा विदेशिने क्रम जारी रहेका बेला दमन चन्दले आफ्नै ठाउँमा सानो लगानीबाट सुरु गरेको व्यवसायलाई विस्तार गर्दै आर्थिक सफलता हासिल गरेका छन्।
उनको व्यवसायिक यात्राले कृषि तथा नर्सरी क्षेत्रलाई केवल परम्परागत खेतीमा सीमित नराखी आधुनिक सजावट, सहरी सौन्दर्य र व्यावसायिक उत्पादनसँग जोड्न सकिने सम्भावना देखाएको छ।
बजारको माग पहिचान गर्ने, ग्राहकको रुचिअनुसार उत्पादन गर्ने र निरन्तर मेहनत गर्ने हो भने सानो पुँजीबाट पनि राम्रो व्यवसाय स्थापना गर्न सकिने चन्दको अनुभव छ।
रु ५० हजारबाट सुरु भएको उनको नर्सरी व्यवसाय अहिले लाखौँको कारोबार गर्ने उद्यम बनेको छ। आफ्नै गाउँमा रोजगारी सिर्जना गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल चन्दको यो यात्रा कृषि क्षेत्रमा सम्भावना खोजिरहेका युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया