काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानका लागि प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ। सोमबार (कात्तिक १६) सम्मका खेल सकिँदा कर्णाली याक्स नेटरनरेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
कर्णालीले तीन खेलबाट दुई जित र एक हारसहित चार अंक जोडेको छ। समान चार अंक रहेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ। कर्णालीको नेटरनरेट ०.२९५ रहँदा जनकपुरको ०.१४१ छ। चार खेल खेलेको सुदूरपश्चिम रोयल्स पनि दुई जित र दुई हारसहित चार अंक जोडेर तेस्रो स्थानमा छ। तर, उसको नेटरनरेट ऋणात्मक १.०६४ छ।
अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले दुई खेलबाट एक जित र एक बराबरीसहित तीन अंक जोडेको छ। लुम्बिनीको नेटरनरेट ४.५९९ छ। समान तीन अंक रहेको चितवन राइनोज तीन खेलबाट एक जित, एक हार र एक बराबरीको नतिजासहित पाँचौं स्थानमा छ।
विराटनगर किंग्स तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेर छैटौं स्थानमा छ। काठमाडौं गोर्खाज पनि दुई खेलबाट एक जित र एक हारसहित दुई अंकका साथ सातौं स्थानमा छ। यता पोखरा एभेन्जर्सले भने सुरुआती दुवै खेलमा हार बेहोरेको छ। दुई खेलबाट अंक जोड्न नसकेको पोखरा तालिकाको अन्तिम स्थानमा छ।
प्रतियोगितामा अझै धेरै खेल बाँकी रहेकाले अंक तालिकाको समीकरण जुनसुकै बेला बदलिन सक्नेछ। विशेषगरी समान चार अंक जोडेर शीर्ष तीन स्थानमा रहेका कर्णाली, जनकपुर र सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले आगामी खेललाई थप महत्त्वपूर्ण बनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया