सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

8 Shares

कर्णाली । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

सबैभन्दा बढी सुर्खेतमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३८ सवारीसाधनलाई कारबाही गर्दा पाँच लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बिसीले बताए ।

उनका अनुसार सल्यानमा २२२ सवारीसाधनलाई कारबाही गर्दा दुई लाख १८ हजार ५०० रुपैयाँ, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट एक लाख ४५ हजार रुपैयाँ, दैलेखमा ९९ सवारीसाधनबाट ९४ हजार रुपैयाँ, जुम्लामा ६७ सवारीसाधनबाट ७३ हजार रुपैयाँ र जाजरकोटमा ६८ सवारीसाधनबाट ६१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनलाई कारबाही गर्दा जनही १७ हजार रुपैयाँ, हुम्लामा १५ सवारीसाधनबाट १५ हजार रुपैयाँ र मुगुमा तीन सवारीसाधनलाई कारबाही गर्दा दुई हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने २४६ जनालाई पनि कारबाही गरिएको छ । कार्यालयका अनुसार सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुमपश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक जना कारबाहीमा परेका छन् ।