आजदेखि एनपीएल सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

10 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणका खेल हुनेछन् । प्रतियोगिताको फाइनल मंसिर ५ गते हुनेछ ।

यस संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिएका छन् । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशि बढाइएको हो । गत संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यतिबेला विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यस वर्षको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ । अम्पायरको निर्णयमा पुनरावलोकन आवश्यक परेमा टोलीहरूले उक्त प्रविधिको सहायता लिन सक्नेछन् ।

एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न डीआरएस प्रयोग हुनेछ । छक्काको दूरी र उचाइ मापनमा पनि प्रविधिको प्रयोग गरिनेछ । नियमअनुसार प्रत्येक टोलीले एकपटकमा दुईवटा रिभ्यु लिन पाउनेछन् ।

अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता, बढाइएको पुरस्कार राशि र डीआरएस प्रविधिको प्रयोगले यस संस्करणको एनपीएललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।