काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेका पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता खेल्न आवश्यक पर्ने एनओसी जारी गर्ने प्रक्रिया रोकेपछि पाकिस्तानी खेलाडीको सहभागितामै प्रश्न उठेको हो ।
क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम क्रिकइन्फोका अनुसार एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिहरूले पाकिस्तानी खेलाडीको एनओसी रोकिएको पुष्टि गरेका छन् । यसअघि नै एनओसी प्राप्त गरिसकेका खेलाडीलाई समेत तत्कालका लागि प्रतियोगितामा सहभागी हुन अनुमति नदिइएको बताइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि पाकिस्तानी खेलाडीको एनओसी रोकिएको विषय आफूहरूले सुनेको बताएका छन् । तर, एनओसी जारी गर्ने वा नगर्ने निर्णय सम्बन्धित क्रिकेट बोर्डको अधिकार क्षेत्रभित्र पर्ने भएकाले यस विषयमा क्यानले केही गर्न नसक्ने उनको भनाइ छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले एनओसीबिना पाकिस्तानी खेलाडीले एनपीएल खेल्न नपाउने स्पष्ट पारे।
पाकिस्तानी खेलाडीको एनओसी रोकिएसँगै यसको कारणबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन् । एनपीएलसँग सम्बन्धित केही व्यक्तिहरूका अनुसार पीसीबीले प्रत्येक खेलाडीको एनओसीका लागि करिब २५ हजार अमेरिकी डलर मागेको हुन सक्ने चर्चा छ ।
यद्यपि, पीसीबीले उक्त रकम औपचारिक रूपमा मागेको हो वा होइन भन्ने पुष्टि भएको छैन । एनओसी जारी गर्ने प्रक्रिया रोक्नुको कारण शुल्कसम्बन्धी विवाद नै हो वा अन्य कुनै विषय हो भन्ने पनि खुल्न सकेको छैन ।
यस विषयमा पीसीबीले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । बोर्डको आधिकारिक धारणा सार्वजनिक नभएसम्म पाकिस्तानी खेलाडीको सहभागितामा देखिएको अन्योल कायमै रहने देखिन्छ ।
यस वर्षको एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीको सूचीमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित सात खेलाडी छन् ।
सूचीमा साहिबजादा फरहान, हैदर अली, हुसेन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर रहेका छन् ।
यी खेलाडीमध्ये कोही पनि एनपीएल सञ्चालन हुने अवधिमा पाकिस्तानको राष्ट्रिय टोलीको निर्धारित कार्यक्रममा समावेश नरहेको बताइएको छ । त्यसैले राष्ट्रिय टोलीको खेल तालिकासँग जुधेका कारण एनओसी रोकिएको सम्भावना कम देखिए पनि बोर्डले औपचारिक कारण सार्वजनिक गरेको छैन ।
एनपीएल खेल्नका लागि केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन् । तर, एनओसीसम्बन्धी समस्या समाधान नभए प्रतियोगितामा उनीहरूको सहभागिता प्रभावित हुन सक्छ ।
नेपाल आउने तयारीमा रहेका अन्य केही खेलाडीले भने अवस्था स्पष्ट नभएसम्म आफ्नो यात्रा स्थगित गरेको बुझिएको छ । पीसीबीले एनओसी जारी गर्ने प्रक्रिया कहिले अघि बढाउँछ भन्ने टुंगो नलाग्दा खेलाडी, फ्रेन्चाइज टोली र प्रतियोगिता आयोजकसमेत अन्योलमा परेका छन् ।
यस वर्षको एनपीएल आजदेखि सुरु हुँदैछ । आठ टोलीको सहभागिता रहने प्रतियोगिताका खेल काठमाडौंमा आयोजना हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया