पश्चिमी वायुको प्रभावले मौसममा बदली, बिहीबार वर्षा र हिमपातको सम्भावना

7 Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। पहाडी र तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ।

आज राति कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मङ्गलवार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ।

मङ्गलवार राति भने देशभर आंशिक बदली हुने देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बुधवार देशभर सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

बिहीवार भने मौसम थप बदली हुने र विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।