यमनका हुथी विद्रोहीको आक्रमणपछि साउदी अरेबियासँगको रक्षा प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा टर्किएले सतर्क रणनीति अपनाएको छ । साउदी अरेबिया, टर्किए र पाकिस्तानबीच गत अगस्टमा भएको ‘मक्का संयुक्त रक्षा सम्झौता’ कार्यान्वयनका लागि छलफल भइरहेका बेला टर्किएले प्रत्यक्ष सैन्य भिडन्तमा सहभागी हुनुभन्दा रक्षा प्रणाली र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको छ ।
टर्किएका विदेशमन्त्री हाकान फिदानले साउदी अरेबियालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सम्झौता रक्षात्मक प्रकृतिको रहेको र यसले आक्रामक सैन्य कारबाहीको अनुमति नदिने स्पष्ट पार्नुभएको छ । हुथी आक्रमणपछि तीन देशले सामूहिक रक्षा प्रतिबद्धता कार्यान्वयन गर्न तत्काल कदम चाल्ने सहमति गरे पनि टर्किएले आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने विषयमा सावधानी अपनाएको छ ।
टर्किएबाट साउदी अरेबियाले हवाई रक्षा, विद्युतीय युद्ध प्रणाली तथा अन्य प्राविधिक क्षेत्रमा सहयोग पाउने अपेक्षा गरिएको छ । टर्किएसँग विकसित रक्षा उद्योग र मानवरहित हवाई प्रणालीसम्बन्धी क्षमता रहेकाले यस्तो सहयोगले साउदीको सुरक्षा प्रणाली सुदृढ बनाउन भूमिका खेल्न सक्ने अधिकारीहरूले बताएका छन् ।
गत अगस्ट ७ मा मक्कामा भएको सम्झौता तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथिको आक्रमण मानिने व्यवस्था छ । तर क्षेत्रीय द्वन्द्व थप चर्किन सक्ने जोखिमबीच टर्किएले रक्षात्मक सहयोग र प्रत्यक्ष युद्धमा सहभागिताबीच स्पष्ट सीमा राख्न खोजेको छ। यसले नयाँ रक्षा गठबन्धनको वास्तविक भूमिका र क्षेत्रीय सुरक्षामा त्यसको प्रभावबारे चासो बढाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया