काठमाडौं । बडादशैँको अवसरमा यतिबेला प्राचीन मिथिलाको राजधानी जनकपुरधाम धार्मिक आस्था र सांस्कृतिक उत्सवले झकिझकाउ बनेको छ ।
नगरका मन्दिर र चोकहरूमा स्थापित दुर्गा माताका मूर्ति तथा आकर्षक पण्डालहरूले यहाँको रौनकलाई थप गरिमामय बनाएका छन् ।म जसको नेतृत्व स्थानीय युवा क्लवहरूले गर्दै आएका छन् । जनकपुरधामको मुख्य आकर्षणका रूपमा रहेका राजदेवी मन्दिर र अमरखाना मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।
राजा जनककी कुलदेवी मानिने राजदेवी माताको दर्शनका लागि टाढा–टाढाबाट श्रद्धालुहरू यहाँ आउने गर्दछन् । लामो समयसम्म गुठी संस्थानको प्रत्यक्ष निगरानीमा रहेको पूजा व्यवस्थापनको जिम्मेवारी अहिले स्थानीय युवाहरूको काँधमा आएको छ ।
श्री महावीर युवा कमिटीका पूर्व अध्यक्ष विश्वनाथप्रसाद साहकाअनुसार २०४७ सालको प्रजातन्त्र पुनर्बहालीपश्चात पूजा व्यवस्थापनको स्वरूपमा परिवर्तन आएको हो । गुठी संस्थान र जिल्ला प्रशासनसँगको समन्वयमा युवाहरूले व्यवस्थापनको जिम्मा लिएका थिए । प्रारम्भिक चरणमा दुवै मन्दिरको व्यवस्थापन महावीर र राम युवा कमिटीले संयुक्त रूपमा गर्दै आएका थिए ।
यद्यपि, कार्यविभाजन र व्यवस्थापनका विषयमा पछि दुई कमिटीबीच जिम्मेवारीको बाँडफाँट भयो । हाल महावीर युवा कमिटीले राजदेवी मन्दिर र राम युवा कमिटीले अमरखाना मन्दिरको पूजा व्यवस्थापन गर्दै आएका छन् । राम युवा कमिटीका अध्यक्ष विजयकुमार साहकाअनुसार धार्मिक परम्परालाई आधुनिक सजावट र व्यवस्थित प्रवन्धसँग जोड्न युवाहरू सफल भएका छन् ।
यसरी जनकपुरको दशैँ केवल एक कर्मकाण्डमा सिमित नभई धार्मिक आस्था र युवाहरूको सामूहिक सक्रियताको जीवन्त उदाहरण बनेको छ । सांस्कृतिक जगेर्नामा युवाहरूको यस्तो सहभागिताले जनकपुरधामको दशैँलाई नेपालका अन्य सहरहरूभन्दा फरक र विशिष्ट बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया