जनताको विश्वासलाई परिणाममा बदल्न रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेल

17 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले जनताले पार्टीलाई सुम्पिएको विश्वासअनुरूप काम गर्दै आगामी पाँच वर्षभित्र देशको रूपान्तरणको बलियो आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताको अपेक्षाअनुसार सुशासन, समृद्धि र सेवा प्रवाहमा सुधार ल्याउनु पार्टीको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जनताले सरकार र जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन्।

बडादशैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी, महालक्ष्मी नगरपालिका वडा नं. ५ समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रवक्ता खरेलले जनताबाट प्राप्त मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिँदै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका हुन्।

खरेलले संघीय, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके मात्र जनताका अपेक्षा सम्बोधन गर्न सकिने बताए। तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा पनि जनताको विश्वास र समर्थन कायम रहने अपेक्षा व्यक्त गरे। रास्वपाको राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै खरेलले नेपाली नागरिकले आफ्नै देशमा रोजगारी तथा अवसर प्राप्त गर्न सक्ने, परिवारसँगै बसेर जीवनयापन गर्न सक्ने र सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए। देशमै श्रम, सीप र क्षमताको उपयोग गर्न सकिने अवस्था सिर्जना गर्नु तथा नेपाली राहदानीको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्नु समृद्धिको यात्राका महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।

टीका तथा आशीर्वाद आदान–प्रदान गर्दा व्यक्तिगत सुख, शान्ति र समृद्धिसँगै देशको उन्नति, राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धिका लागि कामना गर्नुपर्ने उनको भनाइ थियो। नेपाली नागरिकले आफ्नै देशमा बसेर काम गर्न, परिवारसँग जीवन बिताउन र सुरक्षित भविष्य निर्माण गर्न सक्ने वातावरण बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।