दशैँ नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटहीको व्यवस्था गरेको छ । यस वर्ष विगतमा जस्तो निश्चित मिति तोकेर छुट्टै अभियान सञ्चालन नगरी राष्ट्र बैंकका कार्यालय, बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नियमित रूपमा नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको हो ।
सर्वसाधारणले काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालय, राष्ट्र बैंकका क्षेत्रीय कार्यालय तथा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन् । सार्वजनिक बिदाबाहेक अन्य दिन नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ । यस वर्ष सर्वसाधारणले एक वा दुई सेटसम्म नयाँ नोट साट्न पाउने जानकारी राष्ट्र बैंकका अधिकारीहरूले दिएका छन् ।
विगतका दुई वर्ष दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट सटही गरिएको थियो । तर, यस वर्ष भने नयाँ नोट सटहीको सुविधा उपलब्ध गराइएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समेत नयाँ नोट उपलब्ध गराएकाले सर्वसाधारणले केन्द्रीय बैंकमै पुग्नुपर्ने बाध्यता नरहेको जनाएको छ ।
दशैँ, तिहार र छठजस्ता चाडपर्वमा नयाँ नोटको माग बढ्ने गरेको छ । डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको र चाडपर्वका लागि नयाँ नोट वितरण गर्दा मुद्रा व्यवस्थापनमा पर्ने प्रभावलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस वर्ष नियमित सटही व्यवस्थालाई प्राथमिकता दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया