ऊर्जा सङ्कट टार्न अफ्रिकी देशलाई क्षेत्रीय सहकार्यमा जोडिन आह्वान

137 Shares

विश्वव्यापी भू–राजनीतिक तनाव र आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच ऊर्जा सुरक्षा सुनिश्चित गर्न अफ्रिकी देशहरूले क्षेत्रीय सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

दक्षिण अफ्रिकाको केप टाउनमा मंगलबार सुरु भएको ‘अफ्रिकन इनर्जी विक २०२६’ मा सहभागी ऊर्जा क्षेत्रका अधिकारीहरूले सस्तो, पर्याप्त र दिगो ऊर्जा आपूर्तिका लागि महादेशीय एकता आवश्यक रहेको बताएका हुन् । उद्घाटन समारोहमा दक्षिण अफ्रिकाकी खनिज तथा पेट्रोलियम स्रोत राज्यमन्त्री फुमजिले म्गसिनाले अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले इन्धनको मूल्य र नागरिकको जीवनयापन लागत बढाएको उल्लेख गर्नुभयो ।

उहाँले कुनै पनि अफ्रिकी मुलुकले एक्लै ऊर्जा सुरक्षा सुनिश्चित गर्न नसक्ने भन्दै ऊर्जा पूर्वाधार विस्तार, क्षेत्रीय व्यापार र आपूर्तिका स्रोत विविधीकरणमा जोड दिनुभयो छ । सेनेगलका ऊर्जा तथा पेट्रोलियम मन्त्री एल हाद्जी अब्दुरहमाने दिउफले अफ्रिकाले आफ्नै आवश्यकताअनुसार ऊर्जा प्रणाली विकास गर्नुपर्ने बताउनुभयो ।

पर्याप्त र दिगो ऊर्जाको पहुँचबिना महादेशको आर्थिक रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै उहाँले देशहरूबीच अन्तरसम्बन्धित ऊर्जा प्रणाली निर्माण गर्न ढिलाइ गर्न नहुने धारणा राख्नुभएको छ । ‘अफ्रिकी ऊर्जामा लगानीः किफायती र प्रचुर ऊर्जा आपूर्ति’ भन्ने नारासहित आयोजना गरिएको सम्मेलनमा ३०० भन्दा बढी मन्त्री तथा उच्च अधिकारी, ४०० भन्दा बढी वक्ता, १ हजार ५०० कम्पनी र १० हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

सम्मेलनले अफ्रिकाको ऊर्जा क्षेत्रमा लगानी विस्तार, आपूर्ति सुरक्षा र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।