लोपोन्मुख ‘क्रेस्टेड आइबिस’का ६ चरा प्राकृतिक बासस्थानमा मुक्त

407 Shares

चीनमा लोप हुने जोखिममा रहेको दुर्लभ ‘क्रेस्टेड आइबिस’ प्रजातिका ६ वटा चरालाई प्राकृतिक बासस्थानमा छाडिएको छ । हेनान प्रान्तस्थित दोङझाई राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रबाट आवश्यक पुनर्वास र जङ्गलमा बाँच्न सक्ने क्षमता विकास गर्ने तालिम पूरा गरेपछि मंगलबार ती चरालाई खुला वातावरणमा मुक्त गरिएको हो ।

प्राकृतिक रूपमा आहारा खोज्न, बाँच्न र वंशवृद्धि गर्न सक्षम भएपछि मात्रै चराहरूलाई जङ्गलमा छाडिएको संरक्षण केन्द्रले जनाएको छ । लामो समयको हेरचाह र विशेष तालिममार्फत चराहरूलाई प्राकृतिक वातावरणमा घुलमिल हुन तथा जङ्गली जीवनका चुनौती सामना गर्न तयार पारिएको थियो । कुनै समय लोप हुने गम्भीर जोखिममा पुगेको ‘क्रेस्टेड आइबिस’ चीनमा राष्ट्रिय स्तरको प्रथम श्रेणीमा संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत छ ।

यस प्रजातिको संरक्षण र सङ्ख्या वृद्धि गर्न चीनले लामो समयदेखि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । दोङझाई संरक्षण केन्द्रमा नियन्त्रित वातावरणमा ३०० भन्दा बढी क्रेस्टेड आइबिसको प्रजनन गराइसकिएको छ ।मंगलबार मुक्त गरिएका ६ वटासहित हालसम्म १३९ वटा क्रेस्टेड आइबिसलाई प्राकृतिक जङ्गलमा पुनःस्थापित गरिएको छ ।

कृत्रिम संरक्षण र पुनर्वासपछि प्राकृतिक बासस्थानमा फर्काउने यस्ता प्रयासले दुर्लभ चराको संरक्षणसँगै जैविक विविधता र पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।