नासा र स्पेसएक्सद्वारा अन्तरिक्ष केन्द्रमा २ हजार ८६० किलो कार्गो प्रक्षेपण

218 Shares

अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि २ हजार ८६० किलोग्राम सामग्रीसहितको आपूर्ति अभियान सुरु गरेका छन् ।

मंगलबार फ्लोरिडास्थित केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यान ‘फाल्कन–९’ रकेटमार्फत प्रक्षेपण गरिएको हो । अमेरिकी स्थानीय समयअनुसार बिहान ६ः३३ बजे प्रक्षेपण गरिएको रकेटको मुख्य बुस्टर सफलतापूर्वक पृथ्वीमा फर्किएर सुरक्षित अवतरण भएको छ ।

ड्रागन अन्तरिक्ष यानले बिहीबार बिहान ११ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग जोडिने तालिका छ । यानमा अन्तरिक्ष यात्रीका लागि खाद्य सामग्री, दैनिक उपभोग्य वस्तु र विभिन्न वैज्ञानिक अनुसन्धानका उपकरण पठाइएको छ ।

यस अभियानमा सूक्ष्म गुरुत्वाकर्षणमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने उपकरण, औषधि परीक्षणमा सहयोग पु¥याउने तीन आयामिक मुटुको तन्तुका नमुना तथा अन्तरिक्ष केन्द्रका लागि सौर्य ऊर्जा प्रणालीसम्बन्धी उपकरण समावेश गरिएका छन् ।