रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’

17 Shares

  काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ‘ऊर्जा युद्धविराम’ भएको सार्वजनिक घोषणा गर्नुभएको छ । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आफूलाई यस्तो कुनै सम्झौताको जानकारी नभएको बताउँदै आश्चर्य व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत आईतवार दुवै पक्ष ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गर्नुभयो । ट्रम्पको यो दाबी सार्वजनिक भएलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समाचार संस्था ‘एक्सिओस’ सँग कुरा गर्दै यो विषय आफ्नो लागि नयाँ भएको बताउनुभयो । यद्यपि उहाँले यदि रुस साँच्चै नै ऊर्जा युद्धविरामका लागि तयार छ भने युक्रेन पनि सो प्रस्ताव स्वीकार गर्न तयार रहेको संकेत दिनुभयो । यसअघि शनिवार राष्ट्रपति ट्रम्पले रुस युद्ध अन्त्य गर्ने सम्झौताका लागि तयार रहेको तर जेलेन्स्की आफैं वार्ताबाट पन्छिरहेको आरोप लगाउनुभएको थियो ।

उहाँले युक्रेनमा नयाँ निर्वाचन हुनुपर्ने र नयाँ नेतृत्वले मस्कोसँग सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको थियो । यसैबीच, शुक्रवार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी र विश्व बजारमा डिजेल आपूर्ति गर्ने एक विशाल सम्झौता भएको घोषणा गर्नुभएको थियो । उहाँले यसका लागि पुटिनलाई धन्यवाद समेत दिनुभयो ।

अर्कोतर्फ, क्रेमलिनले युक्रेनी ड्रोन आक्रमणका कारण शान्ति वार्ताको सम्भावना तत्कालका लागि टरेको बताएको छ । युद्धग्रस्त क्षेत्रमा कूटनीतिक पहलहरू तिब्र भइरहँदा ट्रम्पको पछिल्लो दाबीले अन्तर्राष्ट्रिय वृत्तमा थप अन्योल सिर्जना गरेको छ ।