काठमाडौं । यमनका हुथी विद्रोही समूहका नेता अब्देल–मालिक अल–हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गर्नुभएको छ ।
रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढाउँदै गर्दा अल–हौथीले बुधवार एक टेलिभिजन सम्बोधनमार्फत दुवै मुलुकलाई द्वन्द्वको भूमरीमा नफस्न सचेत गराउनुभएको हो । हुथी नियन्त्रित अल–मसिराह टीभीमार्फत सार्वजनिक सम्बोधनमा अल–हौथीले टर्की र पाकिस्तानभित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दाबी गर्नुभयो ।
उहाँले कुनै विशिष्ट अधिकारी वा समूहको नाम नलिए पनि साउदी गठबन्धनमा यी मुलुकहरूको सैन्य उपस्थिति क्षेत्रीय सुरक्षाका लागि थप चुनौतीपूर्ण हुने संकेत गर्नुभयो । साउदी अरबले हालै मात्र पाकिस्तान र टर्कीसँग रक्षा समन्वय बढाएको छ ।
यसअघि सोमवार दुवै मुलुकले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई आवश्यक सैन्य शक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । यसले यमनमा जारी द्वन्द्व थप जटिल बन्ने संकेत गरेको छ ।
यसैबीच अल–हौथीले साउदी अरबमाथि सैन्य कारबाही तिब्र पारेको आरोप लगाउनु भयो । उहाँले हालसम्मका कुटनीतिक प्रयासहरू विफल भएको भन्दै वार्ताको ढोका बन्द भएको घोषणा गर्नुभयो । उहाँले रियादले यमनका विमानस्थल, आयात र आर्थिक स्रोतहरूमाथि अझै पनि कडा प्रतिवन्ध लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
रणनीतिक महत्वको बाब अल–मान्देब जलडमरू मध्यको नियन्त्रण र त्यसवरिपरिको भू–भागमा हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच लडाइँ चर्किएको छ । साउदी नेतृत्वको गठबन्धनले हवाई कारबाही तिब्र पारेको छ भने हुथीहरूले पनि साउदी भूमि लक्षित ड्रोन र मिसाइल आक्रमण बढाएका छन् ।
सन् २०१४ मा हुथीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि शुरु भएको यो द्वन्द्वले यमनलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया