इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषध सम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोह सञ्चालनमा संलग्न भएको ठहर गर्दै फाँसीको सजाय ताकिएको सरकारी स्वामित्वको समाचारपत्र अल–अहरामले जनाएको छ ।
गिरोहसँग अवैध हतियार र गोलीगठ्ठासमेत रहेको अदालतले ठहर गरेको छ । ३९ वर्षीया खलिफालाई ‘मिसन इम्पोसिबल’ टेलिभिजन कार्यक्रमले चर्चामा ल्याएका थिए । उनले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएकी छन् । उनका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मुद्दामा अन्य ९ जना प्रतिवादीलाई आजीवन कारावास र ७ जनालाई सफाइ दिइएको छ ।
फैसला पहिलोपटक गत महिना घोषणा गरिएको थियो । तर मृत्युदण्डसम्बन्धी मुद्दामा इजिप्टका ग्रान्ड मुफ्तीबाट धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्था भएकाले अदालतले उक्त राय प्राप्त गरेपछि मात्रै फैसला औपचारिक रूपमा पुष्टि गरेको जनाएको छ ।
गत सेप्टेम्बरमा भएको अदालतको सुनुवाइमा न्यायाधीशले खलिफालाई उनको कथित भूमिकाबारे प्रश्न गरेका थिए । त्यस क्रममा उनले लागुऔषध नियन्त्रण निकायको कार्यालयमा आफूलाई त्यससँगै फोटो खिचाइएपछि मात्रै आफूले लागुऔषध देखेको दाबी गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया