यू–१९ गर्ल्स बास्केटबलमा लेट्स गो एकेडेमीको जित

11 Shares

काठमाडौँ । युवा महिला खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यू–१९ गर्ल्स बास्केटबल लिग २०८३ अन्तर्गत शनिबार चारवटा खेल भएका छन् ।

टोखास्थित प्याराडाइज बासकेटबल कोर्टमा भएको प्रतियोगितामा आयोजक लेट्स गो बास्केटबल एकेडेमी, रिम रनर्स, कीर्तिपुर एकेडेमी, आईएसए एकेडेमी विजयी भएका छन् ।

खेलमा लेट्स गो बास्केटबल एकेडेमीले बलर्स एकेडेमीलाई ५६–४२ अंकले पराजित गर्‍यो । यस्तै, रिम रनर्स एकेडेमीले येचु एकेडेमीलाई ४३–२६ अंकले हराउँदा कीर्तिपुर एकेडेमीले जेभिएर एकेडमीमाथि ६३–३३ अंकको जित निकाल्यो ।

यसैगरी, आईएसए एकेडेमीले सगरमाथा एकेडेमीलाई ३५–३० अंकले हराएको छ । लेट्स गो बास्केटबल एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ । युवा महिला खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै उनीहरूको क्षमता र प्रतिभा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।