सुनसरीमा सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, चालक फरार

26 Shares

सुनसरी, जेठ २३ — सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–२ निवासी ३२ वर्षीय प्रहरी जवान रन्दीप पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा आज मृत्यु भएको हो। प्रहरीका अनुसार पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

उनी प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए। दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।