काठमाडौँ । नेपालीको महान चाड वडादसैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ उपत्यकाभित्रका मठमन्दिर, शक्तिपीठ तथा विभिन्न धार्मिकस्थल क्षेत्रमा सर–सफाइसहित सजावटको रौनक बढेको छ ।
चाडपर्वलाई लक्षित गर्दै उपत्यकाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा सरसफाइ, रङ्गरोगन, मर्मतसम्भार तथा आकर्षक सजावटको काम तीव्र पारिएको छ । दसैँका अवसरमा विशेष गरी शक्तिपीठ तथा देवीदेवताका मन्दिरमा दर्शन र पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले मन्दिर व्यवस्थापन समिति, स्थानीयवासी तथा विभिन्न सङ्घसंस्थाले आवश्यक तयारी थालेका हुन् ।
धार्मिक सम्पदालाई व्यवस्थित तुल्याएर भक्तजनको आवागमन सहज बनाउने तथा मन्दिर परिसरलाई आकर्षक बनाउने उद्देश्यले विभिन्न काम भइरहेको छ । खासगरी गुह्येश्वरी, भद्रकाली, मैतीदेवी, कालिकास्थान, शोभा भगवती, नक्साल भगवती, इन्द्रायणीलगायत प्रमुख शक्तिपीठ तथा मठमन्दिरमा अहिले सरसफाइसँगै रङ्गरोगन, बत्ती जडान, प्रवेशद्वार सजावट तथा आवश्यक मर्मतसम्भारका काम भइरहेका छन् ।
मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीका अनुसार चाडपर्वमा भक्तजनको चाप बढ्ने भएकाले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षक बनाउने काम भइरहेको छ । उनका अनुसार मन्दिरको बाहिरी तथा भित्री भागको सरसफाइ, रङगरोगन तथा आवश्यक मर्मतसम्भारसँगै भक्तजनको आवागमनलाई सहज बनाउने तयारीसमेत भइरहेको छ । “चाडपर्वका समयमा मन्दिरमा भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले अहिलेबाटै सरसफाइ र व्यवस्थापनको कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने ।
दसैँमा विशेषगरी देवीका शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्ने धार्मिक परम्परा रहेकाले घटस्थापनादेखि नै काठमाडौँ उपत्यकाका विभिन्न धार्मिकस्थलमा भक्तजनकको घुइँचो लाग्ने गरेको पाइन्छ । नवरात्रमा देवीका मन्दिरमा विशेष पूजाआजा हुने भएकाले देशका विभिन्न स्थानबाट समेत भक्तजन राजधानीका धार्मिकस्थलमा आउने परम्परा छ ।
भक्तजनको बढ्दो चापलाई ध्यानमा राखेर मन्दिर व्यवस्थापन पक्षले खानेपानी, सरसफाइ, बत्ती, सुरक्षा तथा आवतजावत व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यले परिसर व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको छ । मन्दिरमा भक्तजनको भीड बढ्ने समयमा दर्शन तथा पूजाआजा व्यवस्थित गर्न आवश्यक व्यवस्थापन मिलाउने, मन्दिर परिसरमा फोहर हुन नदिने तथा भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण तयार गर्ने काम भइरहेको जनाइएको छ ।
मैतीदेवीका स्थानीयवासी दीपक महर्जनका अनुसार मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ र सजावटको काम सुरु भएसँगै चाडपर्वको अनुभूति बढ्न थालेको छ । “साँझपख मन्दिर तथा धार्मिकस्थलमा झिलिमिली बत्ती बल्न थालेपछि छुट्टै रौनक देखिन थालेको छ”, उनले भने । काठमाडौँ उपत्यकामा रहेका प्राचीन मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्र मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक सम्पदासमेत भएकाले चाडपर्वका बेला त्यहाँको वातावरण अझ आकर्षक बन्ने गरेको छ ।
परम्परागत वास्तुकला र आधुनिक सजावटको संयोजनले धार्मिकस्थलमा देखिने बेग्लै आकर्षणले विदेशी पर्यटकलाई रौनकता प्रदान गर्दै आएको छ । चाडपर्वका लक्षित गरी धार्मिकस्थल आसपासका सडक तथा सार्वजनिक क्षेत्रको सरसफाइमा समेत ध्यान दिन थालिएको छ । चाडपर्वका समयमा मन्दिर आसपासमा हुने भीडभाडका कारण पैदलयात्रु तथा सवारीसाधनको आवागमन प्रभावित नहोस् भन्ने विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।
आगामी दसैँ, तिहार, छठलगायतका चाडपर्वमा धार्मिकस्थलमा ठूलो सङ्ख्यामा मानिस जम्मा हुने भएकाले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार भक्तजनको भीडलाई व्यवस्थित गर्ने, सम्भावित दुर्घटना रोक्ने तथा चोरी, पाकेटमारीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्ने ठोस योजना अघि बढाइएको छ । उता मन्दिर व्यवस्थापन पक्षले भक्तजनलाई दर्शनका क्रममा अनुशासन कायम गर्न, मन्दिर परिसरमा फोहर नगर्न तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ ।
भीडभाडका समयमा पाकेटमारी तथा अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले भक्तजनलाई आफ्ना बहुमूल्य सामान तथा व्यक्तिगत सामग्री सुरक्षित राख्नसमेत आग्रह गरिएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका स्थानीयवासी राजेश लामिछानेले दसैँ धार्मिक पर्वसँगै पारिवारिक भेटघाट, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको निरन्तरतासँग जोडिएको पर्व भएकाले यस समयमा मठमन्दिरमा विशेष चहलपहल हुने बताए ।
काठमाडौँ उपत्यकाका मठमन्दिर तथा शक्तिपीठमा चाडपर्व लक्षित सजावटले धार्मिक तथा सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ । प्राचीन सम्पदाको मौलिकता कायम राख्दै रङगरोगन, बत्ती तथा फूलमालालगायतका सजावट थपिँदा राजधानीका धार्मिकस्थलमा दसैँको उल्लास झल्किन थालेको छ ।
विशेषगरी साँझपख मन्दिरमा बल्ने झिलिमिली बत्ती, सफा तथा आकर्षक परिसर, भक्तजनको चहलपहल र पूजाआजाको वातावरणले काठमाडौँका धार्मिकस्थलमा दसैँको आगमनको अनुभूति गराउन थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया